
पोखरा, ९ भदौ ।
सहारा क्लब पोखराले माघ ९ देखि २० गते सम्म आयोजना गरेको १६ औं आहा ! रारा ! गोल्ड कपको आय–व्यय शनिवार सार्वजनिक गरेको छ । १६ औं आहा रारा गोल्डकपमा कूल २३ लाख ७६ हजार ९७ रुपैंया बचत भएको जनाएको छ ।
आय–व्यय सार्वजनिक गर्दै अर्थ संकलन उपसमितीका संयोजक टिका बहादुर कार्कीले खेलाडी दैनिक भत्तामा मात्रै २८ लाख २२ हजार खर्च भएको बताउँदै ग्राउण्ड स्टेज र प्यारापिट निर्माणका लागि ६ लाख ३६ हजार ९८६ रुपैंया खर्च भएको छ । संयोजक कार्की गत वर्षको पुरुस्कार वापतको टिडिएस वापतको १ लाख ८२ हजार कर आन्तरिक राजस्व कार्यालय पोखरामा दाखिला गरिएको बताए ।
संयोजक कार्कीले पुरुस्कार वापतको यो वर्षको कर तिर्न भने बाँकी रहेको बताए । उनले खर्च भएको रकममा यातायातमा १ लाख ३८ हजार, अतिथि सत्कारमा २ लाख ६ हजार, फोटो फ्रेम तथा मायाको चिनोमा १ लाख ६२ हजार, मन्च व्यवस्थापनमा १ लाख ३० हजार र व्यानर कपडा तथा लेखाई खर्च वापत १ लाख ४१ हजार खर्च भएको जानकारी दिए ।
१६ औं आहा रारालाई १३ लाख ५० हजार रुपैयाँ मुख्य प्रायोजक रारा चाउचाउले प्रदान गरेको थियो भने राष्ट्रिय खेलकुद परिषदले ५ लाख, गोर्खा ब्रअुरीले ३ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको थियो । सहारा क्लब अष्टे«लियाले दोश्रो पुस्कार बापत २ लाख ५१ हजार, लुम्बिनी विकास बैंक, पृथ्वीराजमार्ग बस सञ्चालक समितिले १ लाख ५० हजार सहयोग दिएका थिए ।
सहारा हङकङले सहयोग जुटाउने क्रममा १ लाख २६ हजार संकलन गरेको थियो भने रोयलले र नेपाल पर्यटन बोर्डले ७५/७५ हजार रुपैयाँ सहयोग गर्दै प्रतियोगितालाई सफल बनाउन प्रदान गरेका थिए ।
सहारा क्लबका अध्यक्ष केशब थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य प्रायोजक संस्था आहा रारा चाउचाउ उत्पादन संस्था हिमश्री फुड्सका सूर्य बहादुर केसीले बोलेका थिए ।
सहारा एकेडेमीलाई ५० हजार
सो अबसरमा सहारा एफसीका सिइओ घनु थकालीले सहारा क्लब द्वारा संचालित सहारा एकेडेमीका लागि ५० हजार प्रदान गरेका छन । यूकेमा विश्वकप फुटबलका बेला संकलित ४० हजार र व्यक्तिगत १० हजार गरि ५० हजार क्लबका अध्यक्ष केशब थापालाई प्रदान गरेका हुन ।