
पोखरा ८ भदौ ।
१८ औं एशियाली खेलकुदको छैटौ दिन पनि नेपाल अझै पदकको खोजिमा भौतारिएको छ । नेपालले हाल सम्म सहभागिता जनाएका एक दर्जन भन्दा बढी खेलहरुमा भारोत्तोलनमा कमल भण्डारीले राष्टिय किर्तिमान बनाउनु बाहेक सबैमा हात लाग्यो शुन्यको अवस्था रहेको छ ।
नेपालको यो अवस्थाले १३ औ दक्षिण एशियाली खेलकुदमा नेपालको तयारी पनि पुरै गफ मात्रै भएको प्रष्ट हुने निश्चित देखिन्छ । “खेलाडीले पदक नै नल्याए पनि कम्तिमा पनि राष्ट्रिय किर्तिमानको छेउछाउ पुग्न सक्छन भन्ने थियो तर त्यो पनि हुन सकेन” जर्कातामा रहेका एक अफिसियलले भने ।
नेपालको यो दयनिय प्रर्दशनले खेलकुदको नेतृत्व सम्हालिरहेको राष्ट्रिय खेलकुद परिषद माथी सिधै औंला तेर्सिएको छ । यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा, सचिब मोहनकृष्ण सापकोटा सहितको टोली जाकार्तामा नेपालको प्रर्दशन हेरेर नेपाल फर्किएको छ ।
व्याडमिन्टनः रत्नजित र विकास पराजित
इन्डोनेसियमा भइरहेको १८ औं एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका रत्नजित तामाङ र विकास श्रेष्ठ शुक्रबार पराजित भएका छन् ।
रत्नजित दक्षिण कोरियाका खेलाडीसंग २१–८ र २१–११ तथा विकास जापानका खेलाडीसंग २१–९ र २१–१० को सोझो सेटमा पराजित भए ।
महिला डबल्समा नेपालका अमिता गिरी र रशिला महर्जनको जोडीलाई दक्षिण कोरियाली जोडीले २१–७ र २१–१ ले सहजै हराए ।
नेपालले शनिबार दुई स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । महिला सिंगल्समा नेपालकी नङशल तामाङले जापान तथा पुरुष डबल्समा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले इन्डोनेसियाका खेलाडी विरुद्ध खेल्नेछन् ।
पौडी: बनेन राष्ट्रिय कीर्तिमान
पौडीमा नेपाली खेलाडीले कुनै पनि स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाउन सकेनन् । नेपालबाट ४ खेलाडी सहभागी थिए । सबैको चुनौती समाप्त भइसकेको छ । चारै खेलाडी हिट चरणबाटै बाहिरिए ।
शुक्रबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गौरिका सिंह र टीसा शाक्य ५० मिटर फ्रिस्टायलमा क्रमशः २१ औं र २३ औं स्थानमा रहे । निर्धारित दूरी गौरिकाले २८.५० तथा टीसाले २९.६१ सेकेन्डमा पूरा गरे । ३१ खेलाडीले सहभागिता जनाएका थिए ।
पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा नेपालका शुभम् श्रेष्ठ सहभागी ३६ मध्ये ३२ औं भए । उनले निर्धारित दूरी तय गर्न ३२.४५ सेकेन्ड समय खर्चे । शिरिषको स्पर्धा यसअघि नै सम्पन्न भइसकेको छ ।
भलिबल: नेपाल पराजित
पुरुष भलिबलमा नेपाल पराजित भएको छ । समूह ‘सी’ को लिगमा नेपाल दक्षिण कोरियासंग २५–१६, २५–१३ र २५–१४ को सोझो सेटमा पराजित भयो । नेपाल यसअघि चाइनिज ताइपेईंसं पनि ३–० को सोझो सेटमा पराजित भएको थियो । पुरुष भलिबलमा २० राष्ट्र सहाभागी छन् ।
स्पोर्ट क्लाइम्बिङ
पालेम्वाङमा भएको स्पोर्ट क्लाइम्बिङको पुरुष बोल्डरिङको छनोट चरणमा नेपालका प्रणीलमान श्रेष्ठ र पेम्बा शेर्पा बाहिरिएका छन् । दुवै खेलाडी समग्रमा २१ औं स्थानमा रहे ।
यसअघि प्रणील र पेम्बा पुरुष स्पिड्स र पुरुष कम्बाइनको छनोट चरणबाटै बाहिरिएका थिए । अब नेपालले शनिबार पुरुष कम्बाइन लिडको छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ ।
आर्चरी : मिक्स टिममा पराजय
आर्चरीको रिकर्भ मिक्स टिम इभेन्टमा नेपाल पराजित भएको छ । नेपाल किर्गिस्तानसंग ५–४ ले पराजित भयो । नेपालबाट तिलक पुन मगर र ज्ञानु अवालेले प्रतिस्पर्धा गरेका थिए ।
नेपालले शनिबार पुरुष रिकर्भ टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । नेपाली टिममा तिलक पुन मगर, रोशन नगरकोटी र मिनप्रसाद गौचन छन् ।