
केशब पाठक
पोखरा, ७ भदौ ।
बंगालादेशमा आयोजना हुने साफ फुटबल च्याम्पियनशिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पोखराका किरण श्रेष्ठलाई सहायक प्रशिक्षकमा नियुक्ति दिएको छ ।
पोखरा बाट आफ्नो फुटबल खेल जिवन सुरु गरेका ४२ वर्षिय किरण यस अघि सहारा क्लबको स्थापना संगै फुटबलमा उदाएका थिए । लिग तथा राष्ट्रिय प्रतियोगिताहरुमा ललितपुरको ए डिभिजन क्लब जावलाखेल युथ क्लब बाट २०५६ देखि २०६१ सम्म खेलेका उनी सो टिमको कप्तानी समेत गरेका थिए ।
सहारा क्लब पोखराको टिम प्रशिक्षकमा रहेर लामो समय देखि कार्यरत किरणले अहिले एन्फा कास्कीमा रहेर स्वयंसेवी प्रशिक्षकका रुपमा ग्रास रुट फुटबलमा समेत जिम्मेवारी सम्हालिरहेका छन । कास्की एन्फाले सञ्चलान गरेको ग्रास रुटका विभिन्न कार्यक्रममा किरणले प्रशिक्षण दिइरहेका छन ।
पोखरा बाटै खेल जिवन सुरु गरेका पूर्व राष्ट्रिय खेलाडी कृष्ण थापा पछि यस क्षेत्र बाट किरणले नेपाली फुटबलमा ठूलो फड्को मारेका हुन । थापा हाल एन्फाको उपाध्यक्षको रुपमा कार्यरत छन । यस अघि पोखराका पूर्व राष्ट्रिय खेलाडी डम्बर गुरुङले राष्ट्रिय यू–१६ फुटबल टिमलाई प्रशिक्षण दिएका थिए ।
किरणको नियुक्ति पछि एन्फा उपाध्यक्ष कृष्ण थापाले यो सबैका लागि खुसीको विषय भएको बताउँदै भने–“पोखराको फुटबल बिकासमा नयाँ आयाम थपिने विश्वास लिएको छु ।”
किरणको नियुक्तिले कास्कीको फुटबल बिकासमा थप सहयोग पुग्ने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताएका छन । उनले भने–“किरण नेपाली राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्ति हुनु हामी सबै पोखरेलीहरुका लागि गौरबको बिषय हो ।” अध्यक्ष गुरुङले किरण निकै मेहनती भएकाले पनि नेपाली फुटबलको बिकासमा उनको योगदान महत्वपूर्ण रहने बताए ।
दक्षिण एशियाकै ठूलो फुटबल प्रतियोगिता साफ फुटबल यहि भदौ १९ गते देखि भदौ ३० सम्म बंगालादेशको ढाकामा सञ्चलान हुँदैछ । साफ फुटबल च्याम्पियनशिपका लागि मुख्य प्रशिक्षकको जिम्मेबारी बालगोपाल मर्हजनले सम्हाल्दै छन ।