१८ औं एशियाडः चौथोे दिन पनि नेपालको पदक बिहिनताको यात्रा जारी, कमलद्वारा सुधार

भदौ ६ गते ।
१८ औ एशियाली खेलकुद एन्डोनेशियामा जारी रहँदा नेपाल भने चौथो दिन पनि पदक बिहिनताको यात्रालाई कायमै राखेको छ । चौथो दिन सम्मको खेल जारी रहँदा कुनै मेडल हात नपरे पछि नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्रि इभेन्ट, कराते र बक्सिङ तर्फ ध्यान मोडेको छ ।

भारोत्तोलनः कमलले गरे सुधार
१८ औं एसियाडअन्तर्गत भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारीले बुधबार कीर्तिमान रचेका छन् । उनले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कुलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् ।
कमलले स्न्याचमा ११९ केजी र क्लिन एन्ड जर्कमा १६० गरी कुल २७९ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । स्न्याचमा कमलकै नाममा ११८ केजीको कीर्तिमान थियो जुन उनले २०७१ सालमा ललितपुरमा भएको तेश्रो ग्राँ पिमा बनाएका थिए ।
क्लिन एन्ड जर्कमा कमलले बेइजिङ ओलम्पिकमा बनाएको १५५ केजीको कीर्तिमानलाई सुधार गर्ने क्रममा दोश्रो लिफ्टमै १५६ केजी उचालेका थिए । लगातार चौथो एसियाड खेली रहेका कमल तेश्रो लिफ्टमा १६० केजी भार वहन गर्दै पुनः १५६ केजीको कीर्तिमानलाई सुधारे । कमल समग्रमा १४ औं भए । बिहीबार नेपालका विकास थापाले पुरुष ७७ केजीमा प्रतिस्पर्धा गर्नेछन् ।

बास्केटबलः ताइपेइद्वारा नेपाल पराजित
महिला थ्री अन थ्री बास्केटबलमा चाइनिज ताइपेईले नेपाललाई १९–८ ले पराजित ग¥यो । नेपालका भावना लामा र अनुषा मल्लले समान ३–३ अंक जोडे । एलिना गुरुङ र श्रेया खड्काले १–१ अंक बटुले ।
नेपाली महिला टोलीले अब शुक्रबार जापान र मंगोलियाको सामना गर्नेछ । त्यसअघि बिहीबार नेपाली पुरुष टोलीले सिरिया र जोर्डन विरुद्ध खेल्नेछ ।

पौडी : गौरिका १९ औं
एसियाली खेलकुदको पौडीतर्फ महिला २ सय मिटर फ्रिस्टायलमा नेपालकी गौरिका सिंहले १९ औं स्थान हात पारिन् । २४ खेलाडी सहभागी उक्त स्पर्धाको दूरी तय गर्न गौरिकले २ मिनेट १२.५३ सेकेन्ड समय खर्चिन् । यो स्पर्धामा गौरिककै नाममा २ मिनेट ११.९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।
पुरुष १ सय मिटर ब्रेस्टस्ट्रोकमा शुभम् श्रेष्ठ २७ औं स्थानमा रहे । ३२ खेलाडीले सहभागी थिए । शुभम्ले १ मिनेट ११.३७ सेकेन्डमा दूरी पूरा गरे । यो स्पर्धाको राष्ट्रिय कीर्तिमान पनि शुभम्कै नाममा छ । उनको नाममा १ मिनेट ११.२४ सेकेन्डको कीर्तिमान छ ।
बिहीबार शिरीष गुरुङले १ सय मिटर फ्रिस्टायल र टीसा शाक्यले ५० मिटर ब्रेस्ट स्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

तेक्वान्दो : वीर र भुपेन पराजित
पुरुष ६३ केजीमुनि नेपालका वीरबहादुर महरा प्रिक्वाटरफाइनलमै रोकिए । वीर काजाकिस्तानका खेलाडीसंग ३०–१९ ले पराजित भए । त्यसअघि वीरले अफ्गानिस्तानका खेलाडीलाई २४–१३ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
पुरुष ८० केजीमा नेपालका भुपेन श्रेष्ठ अफ्गानिस्तानका रमेश हुसानीसंग २७–७ ले पछि परे । तेक्वान्दोको अन्तिम दिन बिहीबार नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिला ४९ केजीमुनि अस्मिता खड्का र पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

लनटेनिसमा चुनौती समाप्त 
लनटेनिसमा नेपालको चुनौती समाप्त भएको छ । महिला डबल्समा बुधबार नेपालका मायांका राणा र माहिका राणाको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो । पालेम्वाङमा जापानका मोयुका उचिजिमा र इरिका हायासीको जोडीले मायांका र माहिकाको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।

भलिबल 
पुरुष भलिबलमा नेपालले पराजय भोगेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल चाइनिज ताइपेईंसंग २५–२३, २५–१९ र २५–१५ को सोझो सेटमा पराजित भयो । नेपालले शुक्रबार दक्षिण कोरिया विरुद्ध खेल्नेछ ।

कबड्डीमा पहिलो जित 
पुरुष कबड्डीमा नेपालले चार खेलमा पहिलो जित हात पारेको छ । समूह ‘बी’ को लिगमा नेपालले मलेसियालाई २९–१७ ले पराजित गर्दै पहिलो जित हात पा¥यो । सोही दिन इरान विरुद्धको खेलमा भने नेपाल ७१–२१ ले चुक्यो ।
नेपाल यसअघि इन्डोनेसिया र जापानसंग हारेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार पाकिस्तान विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

उसु :सुस्मिता सातौं
महिला छान् छ्वानमा नेपालकी सुस्मिता तामाङ सातौं भइन् । ९ खेलाडी सहभागी उक्त स्पर्धामा सुस्मिताले ९.२५ अंक बटुलिन् । चीन पहिलो, मकाउ दोश्रो र भियतनाम तेश्रो भए । बुधबारको खेलसंगै उसु सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close