
पोखरा, ६ भदौ ।
इन्डोनेशियामा जारी १८ औं एशियाली खेलकुद अन्र्तगत प्याराग्लाइडिङ तर्फको महिला र पुरुष टिम एक्युरेसीमा नेपालले मध्यम प्रर्दशन गरेको छ । नेपाली महिला टिम ७ औं स्थान र पुरुष टिमले ८ औं स्थान हासिल गर्दै उक्त इभेन्ट सम्पन्न भएको नेपाली टिम म्यानेजर शैलेन्द्र राउतले बताए ।
यो इभेन्ट्सको पुरुषमा आयोजक इन्डोनेसियाले स्वर्ण जितेको छ । दक्षिण कोरियाले रजत र थाइल्यान्डले कास्य पदक हात पारे भने महिला टिम एक्युरेसीको स्वर्ण थाइल्यान्डले जित्यो । इन्डोनेसियाले रजत र दक्षिण कोरियाले कास्य प्राप्त गरे ।
यो इभेन्टमा नेपाली महिला पाइलट प्रतिभा भुजेल, त्रिशा श्रेष्ठ वमजन र सविता तामाङ थिए भने पुरुष तर्फ बिमल अधिकारी, बिजय गौतम, शुसिल गुरुङ, युकेश गुरुङ र बिशाल थापा रहेका थिए ।
यता पुरुष व्यक्तिगत एक्युरेसीमा नवौं राउन्डको खेल सकिँदा नेपालका विजय गौतम १७ औं र सुशील गुरुङ २१औं स्थानमा छन् ।
यहि इभेन्टको महिला/पुरुष एकल तर्फ भने भोली मात्रै खेल सकिने छ । यो इभेन्टमा पनि नेपाली पाइलटले पहिलो दिनको जस्तो खेल प्रर्दशन गर्न नसकिरहेको टिम म्यानेजर राउतले बताए । पहिलो दिनमा सुधारिएको खेल थियो तर तेश्रो दिन सम्म आउँदा केही खस्किएको छ ।
नेपालका लागि एकदमै नयाँ इभेन्टका रुपमा आएको एक्युरेसीमा नेपालले कुनै पनि पदकको सम्भावना नदेखेको भए पनि प्रर्दशनका हिसावले नेपालले निकै राम्रो भएको टिम म्यानेजर राउतले बताए । उनले भने–“हामीले प्याराग्लाइडिङमा पदक जित्ने सम्भावना भएको एक मात्र इभेन्टनै क्रस कन्ट्रि हो जुन बिहिबार बाट सुरु हुँदैछ ।”
प्याराग्लाइडिङको क्रस कन्ट्रि इभेन्टमा नेपाली महिला र पुरुष टिम दुबैले सहभागिता जनाएका छन । यो इभेन्ट भदौ ७ गते बाट शुरु भएर भदौ १४ गते सकिनेछ ।
नेपालले १८ औं एशियाडमा पदकको आश गरेको एक मात्र खेलमा सहभागी खेलाडीलाई हौसला प्रदान गर्न नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ र पूर्व अध्यक्ष धुर्ब बहादुर प्रधान बुधबार कुनचाक पुगेका थिए । उनिहरुले त्यहाँ खेलाडी, टिम म्यानेजर र प्रशिक्षकहरुलाई भेटेर जितको शुभकामना दिएको टिम म्यानेजर राउतले बताए ।