
पोखरा, भदौ ४ ।
एन्डोनेशियामा जारी १८ औं एशियाली खेलकुदमा नेपालले दोश्रो दिनका खेलहरुमा पनि निराशाजनक प्रर्दशन दो¥हाएको छ । अहिले सम्म नेपालले खेलेको कुस्ती, व्याडमिन्टन, पौडी, तेक्वान्दोमा कहिं कतै पनि पदकको नजिक पनि पुग्न सकेको छैन ।
जर्काता प्रस्थान गर्नु अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब विष्टले पत्रकार सम्मेलन गरेर नेपालले मेडल प्राप्त गर्ने खेलहरु यि यि हुन भने पनि ति खेलहरुमा निराशाजनक प्रर्दशन देख्नु र खेलाडीले अनुभव बटुल्ने बाहेक केही हुन सकेको छैन ।
व्याडमिन्टनः नेपाल क्वाटरफाइनलमा पराजित
१८ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल सोमबार क्वाटरफाइनलमा पराजित भएको छ । नेपाल चाइनिज ताइपेईंसंग ३–० ले पराजित भयो ।
पहिलो सिंगल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोश्रोमा नेपालका दीपेश धामी २१–५ र २१–११ तथा तेश्रोमा नेपालका नवीन श्रेष्ठ २१–११ र २१–१० को सोझो सेटमा पराजित भए ।
महिला टिम इभेन्टमा भने नेपालको चुनौती समाप्त भइसकेको छ । ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेलहरु अगष्ट २४ तारिखदेखि सुरु हुनेछ ।
पौडी : गौरिका १८ र टीसा २२ औं स्थानमा
एशियाली खेलकुदको पौडीमा सोमबार दुई नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गौरिका सिंह र टीसा शाक्य दुवैले १ सय मिटर फ्रिस्टायलमा भाग लिएका थिए ।
२७ खेलाडी सहभागी उक्त स्पर्धामा गौरिका १८ औं र टीसा २२ औं स्थानमा रहे । गौरिकाले निर्धारित दूरी तय गर्न १ मिनेट ००.८२ सेकेन्ड समय खर्चिन् । टीसाले १ मिनेट ०३.९६ सेकेन्डमा दूरी तय गरिन् ।
मंगलबार नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।
तेक्वान्दो: सागर क्वाटरफाइनलमा रोकिए
तेक्वान्दोको गेरोगी तर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका छन् । सागर भियतनामका खेलाडीसंग २५–५ अंकले पराजित भए । त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४–४० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसंग २३–१० तथा ६७ केजीमुनि नेपालकी संगीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसंग २०–१७ ले पछि परे ।
मंगलबार ३ खेलाडीले नेपालको चुनौती पस्कने छन् । महिला ६७ केजीमुनि निशा रावल र ५७ केजीमुनि ज्ञानी चुनारा तथा पुरुष ८० केजीममाथि अनोज पुजारीले खेल्नेछन् ।
लनटेनिस :मायांका र माहिका प्रिक्वाटरफाइनलमा
१८ औं एसियाली खेलकुदअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पालेम्वाङमा भएको खेलमा मायांका र माहिकाको जोडीले माल्दिभ्सका जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरे । प्रिक्वाटरफाइनलमा उक्त जोडीले जापानसंग मंगलबार खेल्ने छन् ।
पुरुष डबल्समा भने नेपालका संरक्षकभूषण वज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसंग ६–१ र ६–१ को सीधा सेटमा हारे ।