
केशब पाठक
पोखरा, ४ भदौ ।
१८ औ एशियाली खेलकुदमा नेपालका लागि पदक प्राप्त आश गरिएको एक मात्र खेल प्याराग्लाइडिङ सोमबार बाट इण्डोनेशिया पश्चिम जाभाको गुनुङ मास भन्ने स्थानमा शुरु भएको हो । नेपालले सोमबार महिला र पुरुष दबै तर्फको इन्डिभिजुअल एक्युरेसी र टिम एक्युरेसी इभेन्ट तर्फ प्रतिष्पर्धा गरेका छन । १९ देशका १ सय ३० खेलाडीले सहभागिता जनाएको प्याराग्लाइडिङमा महिला पुरुष इन्डिभिजुअल एक्युरेसी र टिम एक्युरेसी इभेन्ट तर्फ नेपाल दोश्रो चरणमा उत्कृष्ट प्रर्दशन गर्दै तेश्रो चरणमा प्रवेश गरेको हो ।
नेपालका लागि इन्डिभिजुअल एक्युरेसी र टिम एक्युरेसी इभेन्ट बिल्कुलै नयाँ इभेन्ट भए पनि दोश्रो चरणको नतिजा अनुसार पुरुष इन्डिभिजुअलमा २२ अंकका साथ बिजय गौतम तेश्रो स्थानमा छन । उनका अगाडी आयोजक इन्डोनेशिया प्रथम स्थान र दोश्रोमा थाइल्याण्डका खेलाडी छन ।
महिला इन्डिभिजुअल एक्युरेसी तर्फ त्रिशा श्रेष्ठ बमजन छैटौ स्थानमा रहेकी छन । यसैगरि महिला टिम एक्युरेसीमा नेपाल चौथो स्थानमा छ । यो इभेन्टमा पनि आयोजक इन्डोनेशिया नै अगाडी छ भने नेपालले पदकका लागि कोरिया, थाइल्याण्डको चुनौतीलाई समाप्त पार्नु पर्ने हुन्छ । पुरुष टिम एक्युरेसीमा नेपाल दोश्रो चरण पार गर्दा सम्म आठौं स्थानमा रहेको छ ।
नेपाली प्याराग्लाइडर्सहरुले इन्डिभिजुअल एक्युरेसीमा छैटौं राउण्ड सम्म र टिम एक्युरेसी इभेन्टमा १० राउण्ड सम्म प्रतिष्पर्धा गर्नु पर्ने हुन्छ । नेपाली टिमका प्रशिक्षक योगेश भट्टराइले बुधबार सम्म इन्डिभिजुअल तर्फको २ वटा मेडलको टुँगो लाग्ने बताउदै भने –“खेलाडीको प्रर्दशन बाट निकै नै खुसी छौं र मेडलको नजिकै पुगेका छौ ।”
एशियाडमा पहिलो पटक समावेश प्याराग्लाइडिङ खेलमा एक्युरेसी इभेन्ट नेपालका लागि पनि नयाँ भएको नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ङग्लाइडिङ संघका महासचिब शैलेन्द्र राउतले बताए । उनले भने– “यो इभेन्ट हाम्रा लागि नयाँ हो तर क्रस कन्ट्रिमा नेपालले उत्कृष्ट नतिजाका साथ पदक हासिल गर्नेछ ।”
नेपाली प्याराग्लाइडर्सलाई हौसला दिन राजधानी जर्काता बाट करिव २ सय किलिोमिटर टाढा कुनचाकमा यूवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्मा पुगेका थिए । उनले खेलाडीलाई नेपालको झण्डा हस्तान्तरण गर्दै हौसला समेत प्रदान गरे । सो अवसरमा राखेप सदस्य सचिब केशब कुमार बिष्ट लगाएत मन्त्रालय र नेपाल ओलोम्पिक कमिटीको टोली समेत रहेको थियो ।