बीच भलिबलको उपाधि पश्चिमाञ्चल भलिबल संघलाई

पोखरा, ३ भदौ ।
पश्चिमाञ्चल भलिबल संघले बीच भलिबलको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा विभागीय सशस्त्र प्रहरीको एपीएफको ‘ए’ टिमलाई २१–१९, २१–१९ को सोझो सेटमा हराउँदै पश्चिमाञ्चल भलिबल संघले उपाधि जितेको हो ।

उपाधिसंगै पश्चिमाञ्चलले नगद ३० हजार र ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता सशस्त्रको एपीएफ ‘ए’ ले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

गण्डकी प्रदेशका सांसद राजिव पहारी, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ र कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले विजेता उपविजेता दुबै टोलीलाई पुरस्कार प्रदान गरे ।

पोखराको बाराहीघाट स्थित बीच भलिबल कोर्टमा पश्चिमाञ्चलका भुपेन्द्र गुरुङ र रमेश कार्कीको जोडीले सशस्त्रको कुलबहादुर कार्की र भोजबहादुर बि.क.लाई फाइनलमा हराएको हो । प्रतियोगितामा पश्चिमाञ्चलका भुपेन्द्र गुरुङ सर्वोत्कृष्ट खेलाडी बने । भुपेन्द्रले नगद ५ हजारसहित बेष्ट प्लेयरको ट्रफी हात पारे ।

प्रतियोगिताको सेमीफाइनलमा एपीएफ ‘ए ले कास्की जिल्ला भलिबल संघलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै फाइनल पक्का गरेको थियो । उता, पश्चिमाञ्चल भलिबल संघले भने सशस्त्रकै एपीएफ ‘बी’ लाई १७–२१, २४–२२ र १९–१७ ले हराउँदै फाइनलयात्रा तय गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राजिव पहारीले पोखरामा खेलकुदको संभावना धेरै रहेको औंल्याए । नेपाल ट्रष्ट मातहत रहेको बाराहीघाटको खेलकुद मैदान सम्बन्धित संघसंस्थाको मातहतमा ल्याउन आफूले पहल गर्ने सांसद पहारीको प्रतिबद्धता थियो ।

सार्वजनिक सम्पत्तिको संरक्षण गर्न स्थानीय संघसंस्थाहरुलाई यहाँको सार्वजनिक सम्पत्तिको संरक्षण गर्न जिम्मा दिनुपर्नेमा जोड दिंदै फेवाताल गण्डकी प्रदेशकै प्रमुख सम्पत्ति भएकोले यसको संरक्षण हुनुपर्नेमा सांसद पहारीले जोड दिए ।

फेवातालको आकार खुम्चिदैं गएकोमा पहारीले चिन्ता ब्यक्त गर्दै उनले भने– ‘फेवाताल नै नरहे, पोखरासमेत रहँदैन ।’ कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ आचार्यसमेतले बोलेका थिए ।

कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक तारानाथ पहारीले स्वागत र कोषाध्यक्ष टंकराज पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close