
पोखरा, २ भदौ ।
अखिल नेपाल फुटबल संघ कास्कीले यस क्षेत्रको आधारभूत तह देखि नै फुटबलको जग बलियो बनाउन ग्रास रुट लेभल ट्रेनिङ कार्यक्रमलाई अगाडी बढाइरहेको छ ।
यसै सन्दर्भमा एन्फा कास्कीले शनिवारका दिन पोखरा महानगर पालिका वडा नं १७ र २२ लाई लक्षित गर्दै छारेपाटन उच्च माबीमा, वडा नं २१ र ३३ लाई लक्षित गर्दै दोविल्ला स्थित सहारा एकेडेमीमा र वडा नं २५ लाई लक्षित गर्दै हेमजा स्थित विष्णुपादुका क्लबमा ग्रास रुट लेभल ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रम विभिन्न विद्यालयका प्रधानाध्यपक, खेल शिक्षक तथा विभिन्न क्लबका पदाधिकारीलाई प्रदान गरिएको हो
कास्की एन्फाले आयोजना गरेको फरक–फरक कार्यक्रममा सम्बन्धित वडाका अध्यक्षहरुले आ–आफ्ना वडामा फुटबलको बिकास गर्ने संगै पूर्वाधार बिकासका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जाहेर गरेका छन ।
छोरेपाटन उच्च माबीमा वोल्दै पोखरा वडा नं १७ का अध्यक्ष तिर्थराज अधिकारीले वडा नं १७ मा फुटबल बिकासका लागि एन्फाले सुरु गरेको ग्रास रुट लेभलको कार्यक्रमलाई सहयोग गर्न आफू तयार रहेको बताए । उनले वडामा रहेका सार्वजनिक स्थानहरुको पहिचान गरि हरियाली संगै खेलकुदका पूर्वाधार बिकास गर्न आफूले सक्दो सहयोग गर्ने समेत बताए ।
यसै गरि सहारा एकेडेमीमा वडा नं २१ का अध्यक्ष खगराज आचार्यले आफ्नो वडामा छिट्टै नै खेलकुदका पूर्वाधार विकास गर्ने तर्फ काम सुरु गरिसकेको बताउँदै आर्थिक समृद्धीका लागि खेलकुद अपरिहार्य रहेको धारणा राखे ।
सोही कार्यक्रममा वडा नं ३३ का अध्यक्ष शिब आचार्यले आफ्ना वडामा रहेका ७ वटा खेल मैदानको स्त्तरोन्ती संगै एन्फा एकेडेमी सञ्चालनका लागि समेत मैदानको पहिचान गरि काम अघि बढेको बताए ।
यता हेमजामा सञ्चालित कार्यक्रममा वडा नै २५ का अध्यक्ष शोभाखर तिमिल्सिनाले हेमजा फुटबलको उर्वर भूमी रहेको वताउँदै वडामा रहेका सार्वजनिक जग्गाहरुमा फूटबल लगाएत अन्य खेलकुदको बिकासका लागि आफू प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कृष्ण थापाले आफूलाई प्राप्त १० थानहरु बलहरु हेमजाको विष्णुपादुका र हेमजा युनाइटेडलाई प्रदान गरेका थिए । विष्णु पादुका क्लब द्वारा संचालित एकेडेमीमा १ सय १९ र हेमजा युनाइटेडमा १ सय २० जना बाल बालिकाहरु ग्रास रुट लेभलको फुटबल ट्रेनिङ गरिरहेको एन्फा कास्कीका महासचिब रमेश कार्कीले जानकारी दिए ।
सो कार्यक्रममा फुटबल प्रशिक्षक शम्भु केसी, कास्की एन्फा उपाध्यक्ष जगत थापा लगाएतले कास्कीको फ्ुटबल बिकासका सम्वन्धमा बोलेका थिए । कार्यक्रम एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा फुटबल प्रशिक्षक किरण श्रेष्ठले सहजीकरण गरेका थिए ।
एन्फा कास्कीले ८–१० वर्ष उमेर समुह र ११–१३ वर्ष उमेर समुहका बाल बालिकामा फुटबलको मोह जगाउन तथा तल्लो तह बाटै फुटबलका खेलाडी उत्पादन गर्ने उद्धेश्य अनुरुप यो ग्रास रुट लेभलको प्रशिक्षणलाई अगाडी बढाएको हो । कास्कीका कम्तिमा ७ अलग–अलग स्थानमा यस्तो कार्यक्रम संचालन हुने अध्यक्ष गुरुङले बताए ।
एन्फा कास्कीले एन्फाको केन्द्रिय कार्यक्रम अनुसार यहि बाल दिवशका अवसर पारेर भदौ २९ गते वृहत कार्यक्रम गर्न लागेको जानकारी समेत दिए । पोखरा रंगशालामा हुने उक्त कार्यक्रममा करिव ३ हजार बालबालिकाहरु एकै पटक मैदानमा उत्रने छन ।