
काठमाडौ, २ भदौ ।
म्याग्दी मगर समाजले सातौ रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उपाधी जितेको छ । शुक्रवार बेलुका कृतिम प्रकाशमा खेलाईएको १० डोरको खेलमा ११७ अंक जोड्दै म्याग्दी मगर समाजले उपाधि चुमेको हो ।
कुल १२० अंकका लागि खेलाईएको १० डोरको खेलमा म्याग्दी मगर समाजले ३ अंक गुमाएको थियो । सात सदस्य टिम स्पर्धामा ६ जना खेलाडीले खेल्न पाउने नियम रहेको छ । प्रत्येक खेलाडीले एक डोरमा २ तीर निशानामा लागाउने पर्नेमा म्याग्दी मगर समाजका जुलुक पुन,कमल पुर्जा, प्रवेश फगामी र हरि पुनले सतप्रतिसत नतिजा निकाल्दै १० डोरमा २० तीरलाई अचुक निशाना लगाएर समान २०÷२० अंक जोडेका थिए ।
देब रोकाको एउटा प्रहार चुके पछि १९ अंकको योगदान दिदा तलबहादुर गर्बुजाले दुई निशाना खेर फाल्दै १८ अंक जोडेका थिए । दोश्रो स्थानमा रहेको नेपाल छन्त्याल संघले १० निशाना चुके पछि ११० अंकमा चित्त बुझाएको थियो । त्यस्तै नेपाल जापान सम्पर्क समितिले तेश्रो स्थान कब्जा गर्दै १०५ अंकजोड्न सफल भयो ।
थासाङ स्पोर्टस् क्लबको आयोजनामा संचालनभएको प्रतियोगितामा नेपाल छ्रन्त्याल संघका राजु छन्त्यालले दोहोरो उपाधि जितेका छन् । उनले ब्यक्तिगत स्पर्धाको खेलमा कुल १० अंक जोड्दै सर्वोकृष्ट धनुषधरको उपाधि जित्दै ३३ हजार ९ सय नगदप्राप्त गरे ।
टिम स्पर्धामा २० अंकजोड्ने ७ खेलाडीलाई पछि पादै बिशिष्ट धनुषधरको उपाधि पनि जित्न सफल भए । बिजेता टिम तथा खेलाडीलाई कार्यक्रमकी प्रमुख अतिथि थकाली सेवा समितिकी केन्द्रिय अध्यक्ष कृष्णकुमारी शेरचन, आयोजक थासाङ स्पोर्टस् क्लबका अध्यक्षकृष्ण शेरचन लगायतले पुरस्कृत गरेका थिए । सो अवसरमा प्रायोजक प्रभु लाईभ इन्स्युरेन्सका खगेन्द्र भट्चन, साग्रीला बिकाश बैंककी ज्योती गौचनलाई सम्मान गरिएको थियो ।
एशियाडका खेलाडीद्धयमिन र अशिमको बिदाई
थकाली सेवा समिति र थासाङ स्पोर्टस् क्लबले एशियाडमा सहभागिहुन जाने खेलाडी द्धय मिन प्रसाद गौचन र अशिम शेरचनलाई शुक्रवार बेलुकी बिदाई गरेको छ । थकाली सेवा समिति केन्द्रिय अध्यक्ष कृष्णकुमारी शेरचन र आयोजक थासाङ स्पोर्टस् क्लबका अध्यक्ष कृष्ण शेरचन लगायतले शुभकामना दिएका थिए ।