
पोखरा, १ भदौ ।
एसियाली महादेशको सबै भन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकर्ताको गेलोरा बुङ कार्नो रंगाशालमा हुँदैछ । नेपाली समय अनुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम सुरु हुनेछ । इन्डनेसियाका राष्ट्रपति जोको विडोडोले एसियाडको उद्घाटन गर्नेछन् ।
उद्घाटन समारोहलाई रंगशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । उद्घाटन समारोहको टिकट शुक्रबार नै बिक्री भइसकेको आयोजकले छ ।
समारोहमा इन्डोनेसियाका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । अन्गुन, राइसा, टुलुस, इडो कोन्डोलोगिट लगायतले आफ्नो प्रस्तुती दिनेछन् ।
यस्तै ४ हजारले आफ्नो नृत्य प्रस्तुत गरिनेछन् । यसका लागि महिनौ अभ्यास गरिएको थियो ।
मार्च पासमा नेपालका ८० जना सहभागी हुने
उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी हुनेछन्। नेपाली टोलीको नेतृत्व खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले गर्नेछन् । यस्तै गरी एसियाडमा नेपालका सेभ दि मिसन तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट लगायत पदाधिकारी हुनेछन् । नेपालको झण्डा १० औं दक्षिण एसियाली खेलकुद अन्तर्गत भारोत्तोलनका एक मात्र स्वर्ण विजेता कमलबाहदुर अधिकारीले गर्नेछन् ।
एसियाडमा ४५ देशबीच भिडन्त
एसियाडमा ४५ देशका ११ हजार ५ खेलाडी सहभागी हुनेछन्। ४० खेलका ४ सय २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
एसियाडको इतिहासमा पहिलो पटक दुई सहरमा एसियाड आयोजना हुन लागेको छ । दोस्रो पटक एसियाड गर्न लागेको इन्डोनेसियाले जकार्ता र पालेम्वाङमा खेलहरु संचालन गर्ने व्यवस्था मिलाएको छ। इन्डोनेसियामा सन् १९६२ मा पनि एसियाडको चौथो संस्करण भएको । एसियाड सबै भन्दा बढी पटक आयोजना गर्ने राष्ट्रय थाइल्यान्ड हो । थाइल्यान्डले पटक एसियाड आयोजना गरिसकेको छ ।
इन्डोनेसियाका सर्वाधिक ९ सय ५१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एसियालडी खेलकुदमा समग्रमा सबै भन्दा बढी स्वर्ण जितेको चीनले ८ सय ७९ खेलाडी सहभागी गराएको छ । थाइल्यान्ड ८ सय १६, दक्षिण कोरियाले ८ सय ७, चाइनिज ताइपेइका ५ सय ५८ र भारत ५ सय ७२ खेलाडी सहभागी छन् ।
एसियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २ सय ८५ जना सहभागी हुँदैछन् । जसमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन् ।
नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछ।
नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउदै छ ।
दुई संस्करण बाहेक सबै एसियाडमा सहभागिता जनाएको नेपालले हालसम्म १ रजत र २२ कास्य गरी २३ पदक जितेको छ । नेपालले १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोश्रो संस्करण र १९६२ मा इन्डोनेसियाकै जकार्तामा भएको चौथो संस्करणमा भाग लिएको थिएन। नेपालले हालसम्म तेक्वान्दोबाट १ रजत र १३ कास्य, बक्सिङबाट ६ कास्य तथा करातेबाट ३ कांस्य जितेको छ। १९८६ को सिओल एसियाड नेपालले पहिलो पटक पदक प्राप्त गरेको थियो।