“एशियाडमा प्याराग्लाइडिङ खेल तर्फ पदकको नजिक छौं” –नेपाल टिम प्रशिक्षक भट्टराई

केशब पाठक
पोखरा, १ भदौ ।
इण्डोनेशियामा सञ्चालन हुन गइरहेको १८ औं एशियाली खेलकुद अन्र्तगत प्याराग्लाइडिङ खेलमा नेपाल पदकको नजिक पुगेको नेपाल प्याराग्लाइडिङ टिम प्रशिक्षक योगेश भट्टराईले बताएका छन । भदौ ४ गते देखि सुरुहुने प्याराग्लाइडिङमा नेपालले आफ्नो तयारीलाई बलियो बनाएको छ ।

इण्डोनेशियाको सुमेदेङ बाट करिब एक साता लामो प्रशिक्षण रहेर प्याराग्लाइडिङ आयोजना स्थल (राजधानी जार्काता बाट २ सय किलोमिटर) कुनचाकमा फर्केपछि प्रशिक्षक भट्टराईले टेलिफोन कुराकानीमा उक्त कुरा बताएका हुन ।

“हामी जुन ठाँउमा प्रशिक्षणमा थियौं त्यहाँ बाट करिब १ सय २० किलोमिटर टाढा कुनचाक आइपुगेका छौं” प्रशिक्षक भट्टराईले भने–“हामी एकदमै अप्ठ्यारो ठाँउमा प्रशिक्षणका लागि थियौं जहाँ हाम्रा प्रत्येक खेलाडीले दैनिक १० घण्टा प्रशिक्षण गरेका थियौं ।” प्रशिक्षण स्थलको हावा एकदमै ‘ट्रिकी’ रहेकोले पनि खेलाडीले धेरै कुरा सिक्ने अबसर पाए उनले भने ।

यति लामो सम्म दैनिक १० घन्टा प्रशिक्षण कुनै पनि खेलाडी विगतमा नलिएको बताउँदै आफूहरु १८ औं एशियाडमा नेपालका लागि पदक ल्याइ छाड्ने उच्च मनोबलका साथ लागि परेको प्रशिक्षक भट्टराईले बताए ।

पहिलो पटक एशियन खेलमा समावेश प्याराग्लाइडिङ खेलमा कुल १९ देशले सहभागिता जनाएको र त्यस मध्ये आयोजक इण्डोनेशिया, कोरिया र जापान संग सिधा टक्कर नेपालको रहेको टेलिफोन वार्तामा प्रशिक्षक भट्टराईले बताए । “हामीले कुनै पनि सहभागी मुलुकलाई कमजोर आँकेका छैनौं तर केही कुरा भाग्यमा पनि भर पर्ने हुन्छ” उनले भने ।

नेपालले प्याराग्लाइडिङ तर्फ टिम एक्युरेसी, इन्न्डिभिजुअल एक्युरेसी र क्रस कन्ट्री (एक्सी) मा व्यक्तिगत र टिम इभेन्टमा महिला र पुरुष खेलाडीले सहभागिता जनाउँदैछन । प्याराग्लाइडिङका कुल ३ इभेन्टमा रहेका ६ मेडलमा नेपालको आँखा रहेको नेपाली टिमका टिम म्यानेजर शैलेन्द्र राउतले बताए । उनले भने–“जुन प्रकारको हाम्रो तयारी छ त्यसले पनि हामी पदकको नजिकै छौं भनेर दावा गर्न सक्छौं ।”

नेपाली प्याराग्लाइड्रसलाई एक्युरेसी एकदमै नयाँ इभेन्ट भए पनि क्रस कन्ट्री तर्फ महिला पुरुष दुबैले पदक ल्याउने धेरै नै सम्भावना रहेको टिम म्यानेजर राउतले बताए । एक्युरेसी तर्फ ४ दिन र क्रस कन्ट्री तर्फ ५ दिन खेल हुने र प्याराग्लाइडिङ खेल १८ औं एशियाडमा सबैभन्दा लामो समय हुने खेलका रुपमा रहेको उनले जानकारी दिए ।

पहिलो पटक एशियाली खेलमा समाबेश गरिएको प्याराग्लाईडिङ खेलमा सहभागीता जनाउनेमा नेपालका ५ जना पुरुष र ३ जना महिला खेलाडीहरु गरि कुल ८ जना खेलाडी रहेका छन । खेलाडीहरुमा बिमल अधिकारी (टिम कप्तान) बिशाल थापा, शुसिल गुरुङ, युकेश गुरुङ, बिजय गौतम र महिला खेलाडीहरुमा त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ रहेका छन भने प्रशिक्षकमा योगेश भट्टराई र सानुबाबु सुनुवार छन । ति खेलाडी मध्ये बिजय गौतम र शुसिल गुरुङले एक्युरेसीको टिम र व्यक्तिगत दुबै तर्फ प्रतिष्पर्धा गर्ने छन ।

महिला खेलाडी मध्ये तिशा श्रेष्ठ बमजन र प्रतिमा भुजेलले तिन वटा इभेन्टमा प्रतिष्पर्धा गर्दैछन । प्रतियोगितामा सबैभन्दा कान्छा उमेरका खेलाडी १६ वर्षिय युकेश गुरुङ पनि रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close