
काठमाडौं, ३० साउन ।
इण्डोनेशियाको राजधानी जर्कातामा भदौ २ बाटा सुरु हुने १८ औं एशियाली खेलकुदका लागि नेपालले करिब ७ करोड खर्च हुने जनाएको छ । नेपाली खेलकुदको छाता संस्था राष्ट्रिय खेलकुद परिषदले एशियाली खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै परिषदका सदस्य सचिब केशब विष्टले एशियाली खेलका लागि ७ करोड खर्च हुने भनिएपनि सरकारले ५ करोड मात्रै उपलव्ध गराएको बताएका छन ।
एशियाली खेलका लागि सेभ दि मिसन समेत तोकिएका सदस्य सचिब विष्टले नेपालले सहभागिता जनाउने २९ खेलमा १ सय २९ पुरुष र महिला ५६ गरि १ सय ८५ जना खेलाडी, ४८ जना प्रशिक्षक, २४ जना व्यवस्थापक, २७ जना अफिसियल र एक जना दोभाषे गरि २ सय ८५ जना सहभागी हुने जनाए ।
नेपाल सहित ४५ देश सहभागी हुने एशियाली खेलमा नेपालले सहभागिता जनाएको २९ खेलमा आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्ड रहेका छन ।
सदस्य सचिब विष्टले भने–“एशियाडमा नेपालले सहभागिता जनाउन लागेको हालसम्मकै सर्वाधिक २९ खेल मध्ये १९ खेललाई हामीले बैदेशिक प्रशिक्षणमा पठाएका छौं, तयारी लामो र राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास हामीले लिएका छौं ।”
तर १८ औं एशियाली खेलकुदमा सदस्य सचिब विष्टले भने जस्तै नतिजा नआउने खेल विष्लेषकहरुले दावी गरेका छन । “छोटो तयारी अनि केही साताको बैदेशिक प्रशिक्षणले नतिजा नेपालको पक्षमा आउन गाह«ो छ, तर खेलाडीले आफ्नै स्वाभिमान र आत्मबलले जित्छन की भन्ने आँकलन मात्रै हो ।”
१८ औं एशियाली खेलकुदमा अनुभव बटुल्दै र १३ औं दक्षिण एशियाली खेलकुद (साग) को राम्रो तयारी गर्नु मात्रै रहेको स्वयम खेलकुदका पदाधिकारीहरु बताउँदै आएका छन । नेपालले प्याराग्लाइडिङ र मार्शल आर्ट्सका खेलमा बाहेक अन्य खेलमा सकारात्मक नतिजा आउने कुरामा त्यती विश्वास नभएको र धेरैले सदस्य सचिब विष्टको हावादारी गफ भएको बताउँदै आएका छन । सदस्य सचिब विष्टले प्रेस विज्ञप्तीमा यो कुरालाई पुष्टी समेत गर्दै भनेका छन –“अनुभव संगाल्नकै लागि भए पनि एशियाली खेलमा सर्वाधिक खेलाडी सहभागिता जनाएको छौं ।”
दुई संस्करण बाहेक सबै एसियाडमा सहभागिता जनाएको नेपालले हालसम्म १ रजत र २२ कास्य गरी २३ पदक जितेको छ । नेपालले १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोश्रो संस्करण र १९६२ मा इन्डोनेसियाकै जकार्तामा भएको चौथो संस्करणमा भाग लिएको थिएन । नेपालले हालसम्म तेक्वान्दोबाट १ रजत र १३ कास्य, बक्सिङबाट ६ कास्य तथा करातेबाट ३ कांस्य जितेको छ । १९८६ को सिओल एसियाड नेपालले पहिलो पटक पदक प्राप्त गरेको थियो ।