पोखरामा हुने बीच भलिबलको तयारी पूरा

पोखरा, २९ साउन ।
अन्तर खुल्ला पुरुष बीच भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । यही भदौको १ देखि ३ गतेसम्म पोखराको बैदामस्थित बाराहीघाटस्थित भलिबल कोर्टका हुन गइरहेको बीच भलिबल प्रतियोगिताको तयारी पूरा भएको कास्की जिल्ला भलिबल संघले जनाएको छ ।

बालुवामा २/२ जनाले खेल्ने बीच भलिबल कोर्टमा बालुवा राख्ने, मैदान सजावट, ब्यानर प्रायोजन, रेफ्री व्यवस्थापन लगायतका कार्यहरु पूरा गरिएको प्रतियोगिता संयोजक तारानाथ पहारीले जनाए ।

‘विकसित मुलकहरुको प्राय समुन्द्री किनारको बालुवामा खेलिने बीच भलिबललाई हामीले फेवातालको किनारमा आयोजना गरेका छौं,’ संयोजक पहारीले भने, ‘प्रतियोगिताको तयारी सबै पूरा गरेका छौं ।’

कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले प्रतियोगिताका लागि आयोजक, सहभागि, सहयोगी सबै उत्साहित रहेको बताए । प्रतियोगिताले नेपालको राष्ट्रिय खेल भलिबललाई प्रबद्र्धन गर्न सहयोग पु¥याउने बताए ।

अध्यक्ष पराजुलीले पोखरालाई खेलकुद शहरको रुपमा विकास गराउन बीच भलिबल प्रतियोगिताले सहयोग पु¥याउने औंल्याए । ‘बीच भलिबल खेलमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन हुन्छ,’ अध्यक्ष पराजुलीले थपे, ‘सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा सफल बनाउन पनि खेलकुदको फरक विधा बीच भलिबलको अवधारणा ल्याएका हौं ।’

अध्यक्ष पराजुलीले प्रतियोगितामार्फत उत्कृष्ठ खेलाडी पहिचान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्ने बताए । ‘भलिबलको पनि फरक विधा बीच भलिबल नेपालमै सुस्ताएको बेला पोखराबाट बिउँताउने प्रयास गरेका छौं,’ अध्यक्ष पराजुलीले भने, ‘आगामी दिनमा यसलाई अझ व्यवस्थित र निरन्तरता दिनेछौं ।’

संघका सचिव कुमार गुरुङले टिम दर्ता प्रक्रिया जारी रहेको जनाए । प्रतियोगितामा २२ टिमसम्म हुने अनुमान गरिएकोमा मंगलबारसम्म २२ भन्दा बढि टिम सम्पर्कमा आइसकेको सचिव गुरुङले जनाए । सचिव गुरुङले विहिबार बेलुकी ५ बजेपछि मात्रै टाइसिट निकालिने बताए । विहिबार ४ बजेसम्म टिम दर्ताका लागि अन्तिम समय तोकिएको जानकारी दिए ।

पर्यटन, संस्कृति तथा नागरिक उडड्यमन्त्री रबिन्द्र अधिकारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ ।

भलिबल संघका अनुसार प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको लागि नेपाल भलिबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, पश्चिमाञ्चल भलिबल संघ र नेपाल पर्यटन बोर्ड पोखराको सहयोग रहने संघले जनाएको छ ।

कास्की जिल्ला भलिबल संघका अनुसार पोखरामा बीच भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको यो चौथो पटक हो । यसभन्दा अघि, पोखरा बैदामको बाराहीघाटस्थित फेवाताल किनारको उही भलिबल कोर्टमा दुई पटक र बाटुलेचौरमा राष्ट्रियस्तरको खुल्ला बीच भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो ।
फाइल फोटो
तस्विरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close