‘क्रिकेटको समस्या चाँडो समाधान होस्’-राष्ट्रपति भण्डारी

काठमाडौं, २९ साउन ।
नेदरल्यान्ड्समा एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भेट गरी मंगलबार बधाइ दिएकी छन् । राष्ट्रपति भण्डारी सो अवसरमा खेलाडीलाई बधाई दिंदै नेपाली क्रिकेटमा देखिएको समस्या चाँडो समधान गर्न आग्रह गरेकी छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मिडिया मार्फत क्रिकेटलाई नजिकबाट नियाली रहेको बताउदै सम्भावना भएका खेललाई बढी मलजल गरी फल प्राप्त गर्नेतर्फ सरोकार निकायले चासो दिनु पर्ने धारणा व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले क्रिकेटको समस्या समाधान गर्न आफ्नो तर्फबाट सहयोग आवश्यक परे सक्दो सहयोग गर्न तयार रहेको बताइन् । ‘क्रिकेट समस्या समाधान गर्न आवश्यक परे मेरो तर्फबाट सहयोग हुन्छ । यो मेरो इच्छा हो । आश्वासन होइन् । किन कि म खेलकुदको विकास भएको हुर्ने चाहन्छु ।’ राष्ट्रपति भण्डारीले भनिन्– ‘क्रिकेटको समस्या चाँडो समाधान होस् यसलाई उल्झनको विषय नबनाउँ ।’

राष्ट्रपति भण्डारीले खेलकुदलाई विद्यालय तहदेखि नै विकास गर्न आवश्यक रहेको बताउदै क्रिकेट टोलीले हासिल गरेको उपलब्धीको प्रशंसा गर्दै बधाइ दिइन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सीमित श्रोत र साधनका बावजुद क्रिकेट टोलीले हासिल गरेको सफलता सराहनीय भएको बताउदै क्रिकेटको भविष्य उज्वल रहेको बताए ।

सदस्य–सचिव विष्टले मुलपानी क्रिकेट रंगशालाको जग्गा मुआब्जाको समस्या क्याबिनेटबाट सम्बोधन भइसकेको बताउदै चाँडै क्रिकेटको निलम्बन पनि फुकुवा हुने बताए । सदस्य–सचिव विष्टले देशका विभिन्न भागमा क्रिकेटका पूर्वाधार निर्माण भइरहेको जानकारी गराउदै राष्ट्रपति समक्ष भदौ २ गतेदेखि इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा नेपालको सहभागिता बारे संक्षिप्त जानकारी गराएका थिए ।

उनले इन्डोसिया एसियाडमा नेपालले अहिलेसम्मकै उत्कृष्ट नतिजा हासिल गर्ने दावी गर्दै विगतको भन्दा एसियाडको तयारी राम्रो भएको बताए ।

क्रिकेट मुख्य प्रशिक्षक जगत टमाटाले धेरै संघर्षपछि क्रिकेटले अहिलेको सफलता हासिल गरेको बताउदै यसमा धेरैको योगदान रहेको बताए ।

नेदरल्यान्ड्स विरुद्धको २ एक दिवसीय शृंखलामा नेपालले पहिलो खेलमा हार व्यहोरेको थियो भने दोश्रोमा जित हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close