
काठमाडौं २६ साउन ।
अरहान्तकेशर सिम्ह र भावना सुनुवार तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । सिंगल्सको पुरुषमा अरहान्त र महिलामा भावनाले उपाधि जितेको यो लगातार तेश्रो पटक हो ।
सातदोबाटोमा भएको पुरुष फाइनलमा अरहान्तले अमृत थापा मगरलाई ११–७, ७–११, ११–८ र ११–६ को सेटमा पराजित गरे । महिला फाइनलमा भावनाले कृष्णा थापालाई ११–५, ११–७ र ११–१ को सोझो सेटमा हराइन् । मास्टर्स ५० वर्षमाथि सिंगल्स फाइनलमा सुदीपबहादुर सिंहले दिलिपनरसिंह अधिकारीलाई ११–६, ११–८ र ११–५ ले पाखा लगाउदै पहिलो भए ।
यु–१५ ब्वाइज सिंगल्समा विकास मगरले स्वर्ण जिते । उनले फाइनलमा सलिम थापा मगरलाई ११–४ र ११–५ को सोझो सेटमा निराश पारे । सोही स्पर्धाको गल्र्समा सपना ब्लोन च्याम्पियन बनिन् । फाइनलमा सपनाले मुस्कान राउतको चुनौती ११–४ र ११–३ ले समाप्त पारिन् ।
यु–१९ ब्वाइज सिंगल्स फाइनलमा अमिर ब्लोनले विजय मगरलाई ११–९, ११–३ र ११–३ को सीधा सेटमा पाखा लगाउदै शीर्ष स्थान हात पारे । पुरुष सिंगल्सको प्लेटतर्फ अमिर ब्लोन पहिलो भए । उनले फाइनलमा स्टिभ फ्रान्सिसलाई १२–१०, ११–९, ६–११ र ११–८ को सेटमा पन्छाए ।
विजेतालाई प्रतिनिधि सभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाट, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, आयोजक नेपाल स्क्वास ¥याकेट्स संघका अध्यक्ष किशोर महर्जन लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
पाँचदिने प्रतियोगितामा ५६ खेलाडीले विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ६ रुपैयाँ रहेको छ । आयोजक संघका अध्यक्ष महर्जनकी आमा धनलक्ष्मी महर्जनको स्मृतिमा विगत ३ वर्षदेखि प्रतियोगिता हुँदै आएको छ । अध्यक्ष महर्जनले नै प्रतियोगिताको प्रायोजन गरेका हुन् ।