
काठमाडौं, २५ साृन ।
जकार्तामा २ भदौबाट शुरु हुने एसियन गेम्सका लागि नेपाली पौडी खेलाडीले थाइल्यान्डमा विशेष प्रशिक्षण लिने भएका छन् । पौडी टोली थाइल्यान्डबाट नै जकार्ता प्रस्थान गर्ने छ ।
शुक्रबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले दुइ खेलाडी र एक जना प्रशिक्षकको विदाई गरेका थिए । अन्य दुई खेलाडी भने बाहिर प्रशिक्षणमा रहेको नेपाल पौडी संघले जनाएको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पौडीतर्फ नेपालले उत्कृष्ट पदर्शन गरिरहेको र एसियाडमा पनि राम्रो पदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपाल एसियाडमा ओलम्पिक खेल्ने खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउँछन् । नेपाली खेलाडीका लागि यो ठूलो एक्सपोजर हो, यसबाट नेपालले दक्षिण एसियाली खेलकुदमा महत्वपूर्ण कार्य गर्न सक्नेछ,’ उनले नेपालले जापानको टोकियोमा हुने २०२० ओलम्पिकका लागि वाइल्डकार्ड नभई छनोट भएर भाग लिने लक्ष्य लिएकाले पनि जकार्ता एसियाड महत्वपूर्ण हुने बताए । उनले ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटीले तयारी शुरु गरिसकेको समेत बताए ।
नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले नेपालको तयारी राम्रो भइरहेको र ओलम्पिकमा छनोट हुने लक्ष्य लिएको बताए । शुक्रबार विदाई हुनेमा गौरिका सिंह, टिशा शाक्य र कोचतर्फ वाङदेन लामा छन् । शिरिष गुरुङ र सुलभ अभ्यासका लागि बाहिर रहेका छन् । गौरिका सिंह नेपालको टिमसँग घुलमिन हुने उद्देश्यले इन्डोनेसिया नगई लन्डनबाट नेपाल आएकी हुन् । गौरीका गत रियो ओलम्पिकमा सहभागी भएका सबै खेलाडीमध्येकै कान्छी खेलाडी हुन् ।
सो विषयमा ओलम्पिक अध्यक्ष श्रेष्ठले भने, ‘रियोमा अन्यले मेडल जित्नु अघि नै नेपालको चर्चा भइसकेको थियो । किनकि सबैभन्दा कान्छी खेलाडी नेपालकी गौरिका भएकी थिइन् । यसले नेपालको प्रतिष्ठालाई उचो बनाउने काम गरेको थियो ।’ नेपालले एसियाडमा २९ खेलमा सहभागीता जनाएको छ ।
तस्विरः राजेन्द्र चित्रकार