
काठमाडौ, २२ साउन ।
इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार भारतको पुना प्रस्थान गरेको छ ।
अगष्ट ९ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा प्रफुल महर्जन, रुकेश महर्जन, प्रिन्स दाहाल र पविन लिङथेपले प्रतिस्पर्धा गर्ने छन् । मेघराज कठायतले प्रशिक्षक तथा व्यवस्थापक दुवैको भूमिका निर्वाह गर्ने छन् ।
सोह्र राष्ट्रको सहभागिता रहने प्रतियोगितामा नेपालले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठले जनाएका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य वीरेन्द्र श्रेष्ठ, राखेप अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाट, ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले एक कार्यक्रमका बीच त्रिपुरेश्वरमा बिदाइ गरे ।