नेपालमै पहिलो पटक भलिबल लेभल टू कोचिङ कोर्स सुरु

काठमाडौ, २१ साउन ।
राष्ट्रिय खेल भलिबलको लेभल टू कोचिङ कोर्स काठमाडौंमा सुरु भएको छ । पाँचदिने विशेष कोर्स नेपालमा पहिलो पटक आयोजना भएको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा लगायतले प्रशिक्षण शिविरको उदघाटन गरे ।

उदघाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै ओलम्पिक कमिटीका अध्यक्ष सांसद श्रेष्ठले भलिबल राष्ट्रिय खेल भएका कारण यसको विकास र विस्तारमा सबैको ध्यान केन्द्रित हुनु पर्ने धारणा राखे । ‘भलिबलको बिकास संघको मात्र चासोको कुरा होइन, यो आम नेपालीको गौरवको विषय हो ।’ अध्यक्ष श्रेष्ठले भने, ‘राष्ट्रिय खेलको बिकास गर्नु हाम्रो दायित्व पनि हो ।’

नेपालमा स्तरीय प्रशिक्षकहरुको उत्पादन बढाउनका लागि पहिलो पटक लेभल टू कोर्स आयोजना गरिएको नेपाल भलिबल संघले जनाएको छ । नेपालमा लेभल टू कोर्स पूरा गरेका प्रशिक्षक अहिले सम्म पाँच जना मात्र छन् ।

भलिबल संघका महासचिव जितेन्द्र चन्दले कोर्स पूरा गर्नका लागि बिदेश जाँदा धेरै खर्च लाग्ने भएकाले फेडेरेसन अफ इन्टरनेशनल भलिबल एफआईभीको सहकार्यमा नेपालमै पहिलो पटक यस कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कोर्समा नेपालबाट १६, भारतबाट २ र सिरियाबाट १ प्रशिक्षार्थी प्रशिक्षकको सहभागिता छ । उनीहरुलाई एफआईभीका कोर्स डाइरेक्टर डच नागरिक लास डे डी जोङ र प्रशिक्षक दामिर कोलोले प्रशिक्षण दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close