
पोखरा, २० साउन ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गर्दै पोखरा रंगशालामा दुई वटा टेनिस कोर्टहरु निर्माण प्रारम्भ गरिएको छ ।
काठमाडौको आर.एन.सी विल्डर्सले निर्माण गर्न लागेको उक्त टेनिस कोर्ट निर्मााण गर्न ३ करोड ४५ लाख छुट्टाएको भए पनि निर्माण कम्पनीले परिषद संग २ करोड ४० लाखमा सम्झौता गरि आइतबार बाट काम थालेको हो ।
एउटा क्ले कोर्ट र एउटा हार्ड कोर्ट सहित २ सय ४० वर्ग मिटरको क्षेत्रफलमा एक तले विल्डिङ, दुइ वटा चेन्जिङ रुम र करिब २ सय ५० जना दर्शक क्षमताको छाना सहितको प्यारापिट र शौचालय समेत रहने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीमा कार्यरत इन्जिनियर प्रनिश तामाकारले बताएका छन ।
सम्झौता अनुसार निर्माण कम्पनीले ६ महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने इन्जिनियर ताम्राकारले बताए ।
निर्माण सुरु भएको टेनिस कोर्टले यस क्षेत्रको टेनिस खेलका लागि नयाँ आयाम थप्ने कास्की जिल्ला टेनिस संघका अध्यक्ष बिनोद कायस्थले बताएका छन । “कुनै बेला पोखरेलीहरुले दुखः गरेर आफ्नै लगानीमा पाँच वटा कोर्ट निर्माण गरेका थियौ” उनले भने–“ अब पोखरामा एउटा हार्ड कोर्ट सहित ६ बटा क्ले कोर्ट हुनेछन र हामीलाई कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न बाधा पर्ने छैन ।”
पोखरा टेनिस खेलाडी उत्पादनमा समेत अगाडी रहेको बताउँदै अध्यक्ष कायस्थले १८ औं एशियाली खेलकुदमा समेत पुरुष टेनिसमा पोखराका अभिषेक बास्तोला सहभागी रहेको बताए । नेपालकै नं १ पोजिशनमा रहेका बास्तोलाले एशियाली खेलमा पदक दिलाउनेमा सबै खेलप्रेमीहरु विश्वस्त समेत रहेको उनले बताए ।
१३ औं साग नेपालमा २०७५ फागुन २५ गते देखि २०७५ चैत ४ गते सम्म नेपालमा आयोजना हुँदैछ । १३ औ सागमा पोखरामा टेनिस सहित महिला फुटबल, ह्याण्डबल, भलिबल, आर्चरी, ट्रायथोलन लगाएतका खेलकुद गरिने परिषदले प्रारम्भिक चरणमा बताए पनि अझै निक्र्यौल भने भइसकेको छैन ।