
काठमाडौ, १९ साउन ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्टले नेपाली क्रिकेट टिमले एक दिवसीय क्रिकेट शृंखलाको दोश्रो खेलमा नेदरल्याण्ड्स संगको रोमाञ्चक जितका लागि बधाई दिएका छन ।
परिषदका तर्फ बाट एक विज्ञप्ती जारी गर्दै सदस्य सचिब विष्टले नेदरल्यान्ड्स विरुद्ध जित हात पारेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाइ व्यक्तिगत र राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट हार्दिक बधाइ दिदैं उक्त जित नेपाली र सिंगो राष्ट्रका निम्ति गौरवको विषय बनेको बताएका छन ।
“सफलतासँगै हाम्रा खेलाडीले खेलकुद क्षेत्र राष्ट्रको गौरव बढाउने ससक्त माध्यम हो भन्ने कुरा फेरि एकपटक प्रमाणित गरेर देखाएको र यसका लागि खेलाडीसँगै नेपाली टोलीका प्रत्येक सदस्य धन्यवादका पात्र हुन्” सदस्य सचिब विष्टद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सदीय सचिब विष्टले नेपाली क्रिकेट इतिहासमा २२ वर्ष पछि गत मार्चमा जिम्बावेमा भएको आईसीसी विश्व कप छनोट प्रतियोगितामा एशोसिएट राष्ट्रहरु मध्ये उत्कृष्ट तीनमा रहँदै एक दिवसीय मान्यता पाएको विज्ञप्तीमा उल्लेख गर्दै भनिएको छ –“अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको कठिन अवस्थामा पनि खेलाडीको हौसला मर्न नदिई घरभित्र क्रिकेटको वातावरण जीवन्त राख्ने समर्थक, शुभचिन्तक र सञ्चारकर्मीहरु पनि यो बधाईको उत्तिकै हकदार हुन् भन्ने हाम्रो ठम्याई छ ।”
क्रिकेटमा प्राप्त उपलव्धीलाई गुम्न नदिइ निरन्तर कायम गर्दै अगाडी लैजाने दिशामा परिषदले सक्दो सहयोग गर्ने सदस्य सचिब विष्टले प्रतिवद्धता समेत जाहेर गरेका छन ।