
काठमाडौं, १९ साउन ।
सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले नेपाललाई रंगशाला उपहार दिने इच्छा देखाएको छ । विश्वकप खेलाइने मध्ये एक रंगशाला उसले नेपाललाई उपहार दिने संकेत देखाएको हो ।
कतारमा विश्वकप फुटबलका लागि १२ वटा रंगशाला निर्माण भइरहेका छन् । त्यसमध्ये केही स्थानान्तरण गर्न मिल्ने किसिमका छन् । स्थानान्तरण गर्न मिल्ने रंगशाला कतार सरकारले विश्वकपपछि अविकसित देशलाई हस्तान्तरण गर्ने योजना बनाएको हो । जसमा नेपालको पनि सम्भावना छ ।
छलफलका क्रममा कतारी अधिकारीहरुले रंगशाला उपहार दिने मनसाय देखाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले बताए । ‘छलफलका क्रममा रंगशाला उपहार दिने कुरा भएको हो, तर उताबाट निर्णय भइसकेको छैन’ सचिव दाहालले नेपाल लाइभसँग भने ।
विश्वकपपछि कतारमा १२ वटा रंगशाला उपयोग नहुने भएकाले केही रंगशालाहरु उपहार दिन लागिएको हो ।
यसबारे परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालयका अधिकारीहरुसँग समेत काठमाडौं स्थित कतारी दूतावासका अधिकारीहरुले छलफल गरिसकेको स्रोत बताउँछ । पोखरा वा बुटवलमा सो रंगशाला राख्ने बारे समेत छलफल भइसकेको छ।
कतारका सबैजसो रंगशाला निर्माणमा हजारौं नेपाली श्रमिक सहभागी भएकाले पनि कतारले नेपाललाई रंगशाला उपहार दिने सम्भावना छ । ‘यसका लागि हाम्रो कूटनीतिक पहल पनि उत्तिकै महत्वपूर्ण हुनेछ।’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।
http://nepallive.com/story/29425