खेलकुद मन्त्री विश्वकर्मा द्वारा विभिन्न भौतिक पूर्वाधारको निरीक्षण

काठमाडौं, १७ साउन ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण र मर्मत भइरहेका भौतिक पूर्वाधारको बिहीबार निरीक्षण गरेका छन् ।

खेलकुद मन्त्री विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित कराते हल, पौडी पोखरी, कन्फ्रेन्स हल, सुटिङ रेन्ज र च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको निरीक्षण गरे ।

निरीक्षणका दौरान राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्याय र सम्बन्धित निर्माण कार्यमा खटिएका इन्जिनियरले कार्य प्रगतिका बारेमा खेलकुद मन्त्री विश्वकर्मालाई जानकारी गराएका थिए ।

सो अवसरमा खेलकुद मन्त्री विश्वकर्माले विगतमा पनि निर्माण कार्यको प्रगति बारे जानकारी लिदै आएको र हालको कामको प्रगति आशा लाग्दो हिसाबले अगाडि बढेको बताएका छन ।

मन्त्रि विश्वकर्माले भने–“१३ औं साग सारा नेपाली र सिंगो राष्ट्रको प्रतिष्ठा र गौरवसंग जोडिएको विषय भएको र भईरहेको निर्माण कार्यलाई अझ तीव्र गतिमा बढाएर समयमै सम्पन्न गर्ने दिशामा अगाडि बढ्न आवश्यक छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close