सर्वाधिक पुरस्कार राशीको महिला भलिबल लिगका लागि सम्झौता

काठमाडौं, १७ साउन ।
नेपाल भलिबल संघले पहिलो पटक फ्रेन्चाइजी महिला भलिबल प्रतियोगिता गर्ने भएको छ । संघले भारतको गैरसरकारी संस्था आधीआवादी फाउण्डेसन सग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।

विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीआवादी फाउण्डेसनका सिइओ दिनेश कुमार सिंह वीच प्रतियोगिता आयोजना सम्बन्धी सम्झौता भयो ।

१० वर्षसम्म कायम हुने सम्झौता अनुशार प्रतियोगिता आयोजनाको सम्पूर्ण जिम्मेवारी आधीआवादीको हुनेछ । यससँगै प्रतियोगिता संचालनका लागि आधीआवादीले प्रायोजक समेत आफै खोज्नेछ । यस्तै नेपाल भलिबल संघलाई प्रत्यक वर्ष १५ लाख समेत प्रदान गर्नेछ ।

आज आयोजित कार्यक्रममा सिइओ सिंहले आठ लाखको चेक समेत हस्तान्तरण गरे ।

प्रतियोगिताको विजेताले ६ लाख पाउनेछन् भने दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले एक लाख ५० हजार हात पार्नेछन् । यो रकम नेपाल नेपालकै सर्वाधि पुरस्कार राशी समेत हो ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान टिभीएस स्कुटर र नगद ५० हजार जित्नेछ । प्रतियोगितामा तीन विभागीय टिमसहित ६ टिमको सहभागिता रहनेछ । विभागीय बाहेक बाँकीलाई फ्रेन्चाइजी टिमको संरचनामा लगिनेछ ।

नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र त्रिभूवन आर्मी क्लबसँगै चितवन टाइग्रेस, काठमाडौं क्वीन्स र पोखरा पिन्केजले प्रतियोगिता खेल्नेछन् । विभागीय बाहेक तीन टिमका लागि मालिकको खोजी भइरहेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए । टिमका मालिकले खेलाडी अनुबन्ध गर्नेदेखि उनीहरुको पारिश्रमिक, खानपिन र बसोबासको समेत ब्यवस्था गर्नुपर्नेछ ।

प्रत्येक टिमलाई आयोजकले तयारीका लागि एक लाख २५ हजार दिने पनि बताइएको छ ।

आगामी अक्टोबरको पहिलो साता हुने भनिएको प्रतियोगिताको मिति भने केही समयमा तय हुने नेपाल भलिबल संघका महासचिव जिनेन्द्र बहादुर चन्दले जानकारी दिए ।

फाउण्डेसनका सिइओ सिंहले प्रतियोगिता संचालन गर्नका लागि आवस्यक पूर्वाधारको ब्यवस्था समेत गरिदिने जानकारी दिए । फाउण्डेसनले रेफ्री स्ट्याण्ड, पोल कभर र अपुग भलिबल म्याट पनि ब्यवस्था गर्नेछ ।

आधीआवादीका नेपाल संयोजक सुर्य गुरुङले राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलको समेत मर्मत सम्हार गर्ने बताए ।कार्यक्रममा नेपाल भलिबल संघका पदाधिकारी, आधीआवादी फाउण्डेसनका पदाधिकारी, भलिबल खेलाडी, प्रशिक्षक, रेफ्री लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close