
काठमाडौ, १६ साउन ।
गत हप्ता मात्रै एसियाको पूर्ण सदस्यता पाएको नेपालले सिंगापुरमा हुने एसिया रग्बी सेभेन्स ट्रफी खेल्ने भएको छ । आगामी ३ र ४ अगस्टमा हुने ट्रफीमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई बुधबार एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।
१२ खेलाडीसहित कुल १५ सदस्यीय टोलीलाई नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ, महासचिव चेतनराज गिरी र सचिव गोविन्दबहादुर घिमिरे लगायतले बिदाई गरे । संघका अध्यक्ष घिसिङले नेपाली राष्ट्रिय टोलीका कप्तान कृष्ण क्षेत्रीलाई झन्डा र जर्सी हस्तान्तरण गर्दै बिदाई गरेका हुन । उनीहरु बिहीबार सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
कृष्णको कप्तानीमा रहेको नेपालले आफ्नो समूह ‘बी’ मा युएई, जोर्डन र इन्डोनेसियासँग चुनौती प्रस्तुत गर्नेछ । लिगकम नकआउटका आधारमा हुने ट्रफीमा समूह ‘ए’ मा थाईल्यान्ड, इरान, काजाखस्तान र उज्बेकिस्तान तथा समूह ‘सी’ मा सिंगापुर, पाकिस्तान, बंगलादेश, ब्रुनाई र लाओस छन् ।
गैरवरीयतामा रहेको नेपाली टोली यसपटक शीर्ष चार भित्र पुग्ने लक्ष्य रहेको मुख्य प्रशिक्षक श्रींलकाली राधिका हेटियाच्चीले बताए । कप्तान कृष्णले भने ‘हामीले दुइ महिनादेखि विदेशी प्रशिक्षकको मद्दतले निकै कडा मेहनत गरेका छौँ, हामीसँग र अनुभवी र केही नयाँ युवा खेलाडी पनि छन्, उनीहरुले मेहनतले हामी सफल हुनेछौँ भन्नेमा विश्वस्त छु ।’
टोलीको उपकप्तानमा विराट श्रेष्ठ, कृष्णप्रसाद धमला, श्रीराम श्रेष्ठ, विराट ऐडी, हुतराज प्रधान, प्रेमबहादुर कोइराला, बिक्रम पुरी, जनक वाइवा, झुकेन राई, सन्जय अधिकारी र सिकिन्दर अधिकारी रहेका छन् । नेपाली टिमको प्रशिक्षकमा श्रीलंकाली राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका राधिका, टिम व्यवस्थापकमा इन्द्रबहादुर तामाङ र फिजियोमा लक्ष्मण अधिकारी रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल युएइसँग खेल्नेछ । प्रत्येक समूहका शीर्ष दुई टोली र अंकका आधारमा थप दुइ टिमले क्वार्टरफाइनलमा खेल्नेछ । क्वार्टरमा विजेता चार राष्ट्रले ट्रफी खेल्दा पराजित चार राष्ट्रले प्लेट च्याम्पियनसिप खेल्नेछ । संघका अध्यक्ष घिसिङले भने – ‘नेपालमा रग्वी टिम छ, खेल्न जान्छ र आउछ भन्ने मात्रै होइन यसपटक उपलब्धीपूर्ण हुनेछ ।’