
काठमाडौं, १३ साउन ।
नेपाल रग्बी संघले एसियन रग्बीको पूर्ण सदस्यता प्राप्त गरेको छ । काजखस्तानको एस्टनामा आइतबार काउन्सिलको बैठकले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिएका छन ।
पछिल्लो समय नेपालले रग्बी खेलको गरेको विकास र दिर्घकालिन योजनाका आधारमा रग्वी एसियाले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको संघका सचिव गोबिन्द घिमिरेले जानकारी दिए । एसियाली रग्बीको बैठकमा सहभागी हुन काजखस्तानमै रहेका संघ अध्यक्ष घिसिङले काउन्सिलका पूर्ण सदस्य राष्ट्रलाई धन्यवाद दिँदै नेपालमाथि थप जिम्मेवारी थपिएको प्रतिक्रिया दिए । बैठकमा अध्यक्ष घिसिङ र कोषाध्यक्ष विजय मोक्तानले नेपालको प्रतिनिधित्व गरेका थिए ।
बैठकमा संघ अध्यक्ष घिसिङले नेपालको वर्तमान अवस्था र भावी रणनीति बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले भने ‘वर्तमान अवस्थामा विश्वमा निकै लोकपृय हुँदै गइरहेको रग्बीमा हामी पूर्ण सदस्य हुन सफल भएका छौँ । यो सफलता नेपाली रग्बी परिवार र सम्पुर्ण खेलकर्मीको साथ सहयोगले भएको हो । आगामी दिन हामी यो सफलतालाई विकासमा परिणत गर्नेछौँ ।’
राष्ट्रिय खेलकुद परिषद् ३७ औँ नम्बरमा दर्ता भएको रग्बी संघले एसिया रग्बीमा पूर्ण सदस्यता प्राप्त गर्ने १८औँ राष्ट्र बन्यो । काउन्सिलको बैठकमा नेपाल र सिरिया गरी थप २ राष्ट्रले पूर्ण सदस्यताका लागि प्रस्तुत गरेको थियो । पूर्ण सदस्यता सँगै नेपालले एसिया रग्बीबाट प्राविधिक सहयोग प्राप्त गर्नेछ ।