राष्ट्रिय खेलकुद परिषद द्वारा ओलम्पियनलाई मासिक भत्ताको सुरुवात

काठमाडौं, १३ साउन ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हालसम्मका नेपाली ओलम्पियनलाई साउन महिनादेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ ।

पहिलो चरणमा आइतबार काठमाडौमा आयोजित एक कार्यक्रमबीच ओलम्पियनलाई साउन महिनाको भत्ता उपलब्ध गराइएको हो ।

८० जना ओलम्पियनलाई जनही ३ हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ को टोकियोमा भएको ओलम्पिकदेखि सहभागिता जनाउन सुरु गरेको थियो ।

सागका स्वर्णधारी र एसियालीका पदक विजेता पुरस्कृत 
पहिलो दक्षिण एसियाली खेलकुद (साग) देखि १२ औं सागका स्वर्ण विजेतालाई पनि सोही कार्यक्रममा पुरस्कृत गरियो । ९४ स्वर्णधारीलाई एक स्वर्णका लािग मासिक ५ हजारका दरले कुल ४० लाख रुपैयाँ वितरण गरियो । २०७४ मंसिरदेखि २०७५ असारसम्म जम्मा ८ महिनाको मासिक ५ हजारका दरले दिनु पर्ने पुरस्कार वितरण गरिएको हो ।

त्यस्तै एसियाली खेलकुदका पदक विजेतालाई पनि २०७४ मंसिर देखि २०७५ असारसम्म ८ महिनाको एक पदकका लागि ५ हजारका दरले रकम प्रदान गरिएको थियो । ८ जनालाई जम्मा ४ लाख ४० हजार रुपैयाँ वितरण गरिएको छ ।

२०७४/७५ का अन्तर्राष्ट्रिय पदक विजेता पुरस्कृत 
आर्थिक वर्ष २०७४/७५ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता पुरस्कृत भए । ४ सय १२ खेलाडीलाई जम्मा १९ लाख २५ हजार नगद प्रदान गरियो ।

राखेप च्याम्पियनसिपका उत्कृष्ट खेलाडी पुरस्कृत 
राखेपको आयोजनामा भएको राखेप च्याम्पियनसिपका विभिन्न खेलका उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पुरस्कृत भएका छन ।

गत माघको पहिलो साता सम्पन्न भएको एक महिने प्रतियोगितामा विभिन्न ३० खेल समावेश थिए । ३० खेलकै उत्कृष्ट पुरुष÷महिला खेलाडीले जनही १५ हजार नगद पाए । तेक्वान्दोको हकममा भने ग्योरोगी र पुम्सेमा छुट्टै उत्कृष्ट पुरुष÷महिला खेलाडी चयन गरिएकोले चार जनालाई जनही ७ हजार ५ सय नगद पुरस्कार दिइएको छ ।

श्रष्टा सम्मानित 
प्रदेश ५ मा मंसिरमा हुने आठौं राष्ट्रिय खेलकुदका लोगो र मस्कट डिजाइनर तथा गीत र नाराका रचनाकारलाई पनि सम्मान गरिएको छ ।

लोगो र मस्कट सन्तोष विष्टले डिजाइन गरेका थिए । विष्टलाई लोगोका लागि ४५ हजार र मस्कटका लागि ३५ हजार नगद पुरस्कारसहित सम्मान गरियो । त्यस्तै गीत रचनाकार नारायण खतिवडालाई २५ हजार र नारा रचानाकार राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई ५ हजार नगदबाट पुरस्कृत गरियो ।

सदस्य–सचिव विष्टले भने आफ्नो पुरस्कार रकम राखेपकै खातामा जम्मा गरिदिएका छन् । सोही अवसरमा संगीतकार बसन्त सापकोटालाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

खेलकुद मन्त्रालयद्वारा पदक विजेता र पत्रकार सम्मानित

सोही कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले ५ पदक विजेता खेलाडीसहित २ खेल पत्रकारलाई सम्मान गरेको छ । खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ बमोजिम आ.व. २०७४/७५ मा भएका अन्तर्राष्ट्रिय च्याम्पियनसिपका पदक विजेता ५ खेलाडीलाई नगदसहित सम्मान गरिएको हो ।

कम्बोडियामा भएको विश्व खुन खेमर च्याम्पियनसिपका स्वर्ण विजेता अनिशा खड्का र राहुल थोकर लामालाई जनही १ लाख नगदसहित सम्मान पत्रद्वारा सम्मान गरियो । मंगोलियामा भएको नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपकी रजत विजेता ननिता महर्जन ६५ हजार तथा सोही प्रतियोगिताका कांस्य विजेता रुजेश शाही ३५ हजार नगदसहित सम्मानित भए ।

त्यस्तै दक्षिण कोरियामा भएको ५१ औं एसियाली पुरुष भारोत्तोलनका कांस्य विजेता कमल भण्डारीलाई पनि ३५ हजार नगदसहित सम्मान गरियो ।

सम्मानित हुने पत्रकारमा नेपाल टेलिभिजनका राजु सिलवाल र बीबीसीका निरञ्जन राजवंशी रहेका छन् । दुवैलाई जनही ५० हजारसहित सम्मान पत्र प्रदान गरियो ।

उनीहरुलाई उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट लगायतले सम्मान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close