प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

पोखरा स्पोर्टस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

‘स्वास्थ्य, एकता र समुन्नतिका लागि खेलकूद’ भन्ने नाराका साथ यही फागुन २१ गतेदेखि गैँडाकोट–९ स्थित थुम्सीमा प्रतियोगिता आयोजना गरिने सोमबारआयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नवजागरण ग्रामीण विकास केन्द्रले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, कास्की र चितवनका आठ टोलीले भाग लिने खेल संयोजक धामनाथ सापकोटाले जानकारी दिएका छन् । लामो समयदेखि खेलकूदका गतिविधि ठप्प जस्तै भएको अवस्थामा खेल पर्यटनमार्फत आर्थिक क्षेत्रलाई गतिशील बनाउन प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो ।

प्रतियोगितामा विजेता हुने टोलीले नगद रु २ लाखसहित कप, पदक तथा प्रमाणपत्र पाउने आयोजक संस्थाका अध्यक्ष रामचन्द्र सापकोटाले बताए। उपविजेताले रु एक लाख ५० हजार, म्यान अफ दी सिरिजले रु १० हजार, इमर्जिङ प्लेयरले रु सात हजार र उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट फिल्डरले रु जनही पाँच/पाँच हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले रु एक हजार ५०० सहितका पुरस्कार पाउने  छन् ।

प्रतियोगिता फागुन २५ गते सम्म सञ्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close