वैदेशिक प्रशिक्षणलाई उसु टोली चीन प्रस्थान

काठमाडौं, ११ साउन ।
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदअन्तर्गत उसुमा सहभागी हुने नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि शुक्रबार चीन प्रस्थान गरेको छ । ९ खेलाडी र २ प्रशिक्षकसहित ११ सदस्यीय टोली चीनको ग्वान्सी प्रस्थान ग¥यो ।

पुरुषतर्फ चित्रसिंह ठकुरीले ७० केजी, मंगलप्रसाद थारुले ६० केजी, पदमबहादुर ठकुल्लाले ५६ केजी, विजय सिन्जालीले छान् छ्वान तथा युवराज थापाले नान् छ्वान अलराउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।

अर्का पुरुष खेलाडी वीरमान लामा भने हाललाई टोलीमा समावेश छैनन् । उनी ढाँडको नशा च्यापिएका कारण शल्यक्रिया गरी चावहिलस्थित दीर्घायु अस्पतालमा उपचाररत छन् । आइतबारसम्म डिस्चार्ज हुने वीरमानले बताए । वीरमान ६५ केजी तौलसमूहका लागि छनोट भएका खेलाडी हुन् ।

महिलाको ५२ केजीमा जुनी राई, ६० केजीमा लुमन्ति श्रेष्ठ, छान् छ्वानमा सुस्मिता तामाङ र नान् छ्वान अलराउन्डमा १२ औं सागकी स्वर्णधारी निमा घर्ती मगरले प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षक शैलेन्द्र श्रेष्ठ र फत्तबहादुर लामा योञ्जन पनि टोलीसंगै चीन गएका छन् । मुख्य प्रशिक्षक अम्बरकुमार थिङ र व्यवस्थापक लाक्पा छिरिङ लामा भने पछि जाने छन् ।

करिब २० दिनको प्रशिक्षणपछि टोली साउन ३० गते चीनबाट इन्डोनेसिया जाने कार्यक्रम छ । उसुको प्रतिस्पर्धा भदौ ३ देखि ७ गतेसम्म जकार्तामा हुनेछ । १९९० मा बेइजिङमा भएको एसियाडको ११ संस्करणदेखि नेपालले उसुमा सहभागिता जनाउन लागेको थियो । त्यो क्रममा हालसम्म निरन्तरता पाइरहेको छ ।

टोलीलाई नेपाल उसु संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र कोषाध्यक्ष शैलेश कर्माचार्यले एक कार्यक्रमबीच बिदाइ गरे । सोही कार्यक्रममा रामेछाप जिल्ला उसु संघका अध्यक्ष लानम लामाद्वारा प्रायोजित टिसर्ट पनि टोलीका सदस्यलाई हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close