
पोखरा, ११ साउन
पोखरा शहर संग भगिनी सम्बन्ध रहेको चिनको कुनमिङमा प्रख्यात अल्ट्रा रेस अब पोखरामा पनि हुने भएको छ ।
यहि वर्षको सेप्टेम्बरमा आयोजना हुने उक्त अल्ट्रा रेसको तयारीका लागि कुनमिङ माउण्टेनियरिङ एशोसियसनको १० सदस्यिय टोली पोखरा आएर त्यस्को विस्तृत अध्ययन थालेको छ । टोलीको नेतृत्व उक्त संस्थाका महासचिव झाङ सीले गरेका छन ।
कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बरालका अनुसार पोखरामा आयोजना हुने अल्ट्रा रेस कुनमिङको जस्तै १ सय १० कलिोमिटरको नभएर ४२.५ किलोमिटरको हुनेछ ।
पोखरालाई खेलकुद पर्यटनका माध्यम द्वारा अघि बढाउन र पोखरामा चिनिया पर्यटक भित्राउन यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले बताए । उनले मितीका बारेमा बैठक बसेर टुङ्गलो लगाउने जानकारी दिंदै सेप्टेम्वर २०१८ को दोश्रो सातामा यो अल्ट्रा रेस पोखरामा हुने बताए ।
“कुनमिङमा भए जस्तो ठ्याक्कै त होइन तर हाफ अल्ट्रा रेसले पनि पोखराको खेलकुदमा नयाँ आयाम थप्ने छ” अध्यक्ष गुरुङले भने । कुनमिङ शहर संग भगिनी सम्वन्ध रहेका विश्वका करिव ५० देखि ६० मुलुकका खेलाडीलाई पोखरामा सहभागिता गराउन कुनमिङले पनि पत्रचार गर्ने भए पछि त्यसले पोखराको खेलकुद बिकासका लागि नयाँ अयाम थपिने विश्वास व्यक्त गरे ।
पोखरामा अयोजना हुने अल्ट्रा रेस पोखराको फेवाताल बाराही घाट बाट सुरु हुने छ भने दौड ड्यामसाईड, छोरेपाटन, मट्टीखान, कुभिण्डे, उल्लेरी ढावा हुदैं भुम्दी, कालाबाङ, स्वाँरा, लुकुमस्वाँरा हुँदै ट्रायथोलन भेन्युबाट डुंगाबाट फेवातालमा पौडिएर खपौदी पुग्नु पर्नेछ । खपौदीबाट दौडिएर क्याम्पिङचोक हुदैं बाराहीघाटमा पुगेर टुंगिने तय भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरालले बताए ।
कुनमिङ बाट आएको टोलीले बिहीबार अल्ट्रा रेसको रुटको लागि बाराही घाट, फुस्रेखोला, रानीबनमा अध्ययन गरेको थियो भने शुक्रबार समेत अन्य स्थानको अध्ययन भ्रमण गर्दैछ ।
अल्ट्रा रेसको अध्ययन टोलीले बिहिबार एथलेटिक्स संघ कास्कीका पदाधिकारीसँग आवश्यक सहयोगको लागि छलफल समेत गरेको थियो । उनीहरुले पोखरा रंगशालाको अबलोकान गरेका थिए । अध्ययन टोलीका अनुसार अल्ट्रा रेस सम्पन्न गर्न करिब १ सय ५० जना निर्णायक र स्वयसेवक आवश्यक पर्ने र उनीहरुलाई आवश्यक प्रशिक्षणको व्यवस्था समेत मिलाउने तय भएको छ ।
करिब ४० लाख खर्च अनुमान गरिएको अनुमान गरिएको उक्त अल्ट्रा रेसको लागि जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा उद्योग वाणिज्य संघ, पोखरा लेखनाथ महानगरपालिका तथा पश्चिमाञ्चल होटल संघले सहकार्य गर्ने पोखरा उद्योग वाणिज्य संघले गर्ने प्रारम्भिक चरणमा छलफल भएको अध्यक्ष गुरुङले बताए ।
अल्ट्रा रेस आयोजना अध्ययन गर्न उक्त टोलीले पोखरामा विभिन्न स्थानका भ्रमण गर्नुका साथै केही विशिष्ट व्यक्तिहरु संग पनि यस बारे छलफललाई तिव्र पारेको कार्यालय प्रमुख बरालले जानकारी दिए ।
कसनमिङको माउण्टेनियरिङ एक्सप्लोरेशन एशोसियसनले प्रत्येक वर्ष निआओइजीमा अल्ट्रा रेस आयोजना गर्दै आइरहेको छ । नेपाली खेलाडीले पनि उक्त अल्ट्रा रेसमा सहभागिता जनाउँदै आएका छन । पोखरामा आयोजना हुने अल्ट्रा रेसको नाम ‘रन फर लभ अल्ट्रा रेस’ हुने बताइएको छ यद्यपी नाम भने अझै टुङ्गो लागेको छैन । पोखरामा अल्ट्रा रेस आयोजना गर्ने बारे एक सम्झौतापत्रमा समेत हस्ताक्ष्रर हुने जनाइएको छ ।