महानगरको खेलकुदलाई योजनाबद्ध रुपमा अगाडी बढाउँदैछौं –महानगर प्रमुख जिशी

स्थानिय निकाय निर्वाचन भएको १६ महिना वितिसकेको छ । संविधानतः अबको खेलकुदको बिकास महानगरको हातमा आइसकेको छ । देशकै ठूलो पोखरा लेखनाथ महानगरको स्थानिय सरकार प्रमुखका रुपमा मान बहादुर जिशी हुनुहुन्छ । पोखरालाई खेलकुदको शहरको रुपमा बिकास गर्ने संगै खेल पर्यटनको महत्व बोकेको महानगरले खेलकुदमा भने जस्तो कोल्टे फेर्न अझै सकेको छैन । तर महानगर प्रमुख जिशी खेलकुद बिकासका लागि आफु संधै तत्पर, चिन्तित र ठोस योजनाका साथ अगाडी बढेको धारणा राख्नुहुन्छ । उहाँ संंग महानगरको खेलकुद बिकासका सम्बन्धमा पोखरास्र्पोट्स डट कमका सम्पादक केशब पाठकले  गरेको कुराकानी ।

प्रमुखज्यू महानगरको खेलकुदलाई हेर्ने दृष्टिकोण के हो ?
महानगरको खेलकुदलाई हेर्ने दृष्टिकोण एकदमै प्रष्ट छ । महानगरको प्रथम वार्षिक नगरसभा बाटै एक वडा एक खेल मैदान भन्ने उद्धेश्यका साथ अगाडी बढाइराखेका छौं । खेलकुद पुरुस्कार जित्न र सहभागिताका लागि मात्रै होइन यसमा हामी प्रष्ट छौं ।
हामीले खेलकुदलाई दुई वटा महत्वपूर्ण रुपमा विश्लेषण गरेका छौ, पहिलो खेलकुदको माध्यम द्वारा स्वास्थ्य नागरिकको निर्माण र दोश्रो पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा बिकास गर्ने लक्ष्यका साथ अगाडी बढेका छौं । खेलकुदमा महानगरले निर्माण गर्न लागेकोे यो गन्तव्यले पक्कै पनि पोखरालाई नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिन सहयोग पुग्नेछ ।

यहाँहरु आउनु भएको पनि १६ महिना वितिसक्यो तर महानगर खेलकुदमा स्पष्ट धारणा बनाउन सकेन भन्ने छ नि ?
हामी यति बेला खेलकुदको बिकासका लागि कार्यविधी बनाएर अगाडी वढने सोचमा छौं र त्यस्को तयारीमा जुटेका र्छौं । हामीले यो कार्यविधीलाई चाँडै नै बहशमा लैजान्छौ । पोखरा आइल्टिच्युड् देखि लिएर समथर भूमिमा खेल्न सकिने खेलहरुको केन्द्र बन्न सक्छ भन्ने हो ।
हामी हतारमा निर्णय गरेर पछि पछुतो मान्ने गरि काम गर्ने पक्षमा छैनौं । केही समय लिएर दिर्घकालिन रुपमा खेलकुदको बिकासका लागि उपयुक्त निती संगै माष्टर प्लानका साथ अगाडी बढ्दै छौं । कुन ठाउँमा कस्तो खेल मैदान बनाउने र त्यहाँ कस्तो खेलको बिकास गर्ने । सबै कुरा हरु स्पष्ट हुन आवश्यक छ । यसकारण पनि म सबैमा अब खेलकुद बिकासले गति लिन्छ भन्ने कुरा विश्वास दिलाउन चाहन्छु ।

यहाँले भन्नुभयो हामी निती तर्जुमा गर्दैछौ, तर महानगर खेलकुद अन्य नगरको दाँजोमा खेलकुद बिकासमा पछि परेको ठान्नु हुन्न ? निती निर्माण गर्नमा यति ढिलाइ किन ?
अन्य नगर र जिल्लाको दाँजोमा खेलकुदमा हामी धेरै पछाडी परिसकेका छौं भन्ने कुरा यर्थाथपरक छैन, झट्ट हेर्दा त्यस्तो देखिने मात्रै हो भन्ने मेरो ठम्मयाइ हो । अब हामी पछाडी नपरौं र खेलकुदले बिकासको गति समातोस भन्ने सोच हो । हामी प्रदेश गण्डकी प्रदेशको प्रमुख केन्द्रमा समेत छौं । पोखरामा दिनै नविराई खेलकुदका कुनै न कुनै गतिविधी भइरहेका हुन्छन । तर ति आयोजनालाई संस्थागत गर्दै समन्वयकारी ढङले अगाडी बढ्ने सोच महानगरको हो । त्यही भएर पनि खेलकुदको दिर्घकालिन बिकासका लागि निती आवश्यक पर्छ । केही कारणले ढिलाइ भएको हो अब यो छिट्टै आउँदैछ । अबको दुई महिनामा खेलकुद निती आउने छ ।

पोखरालाई खेलकुद शहरको र खेलकुदलाई पर्यटन संग जोड्ने गर्ने कुरा बारम्बार आउछन तर त्यो कुराले मुर्त रुप पाउन नसक्नुको पछाडी के कारण देख्नुहुन्छ ?
यति बेला खेलकुदमा जे भएका छन ति सबै निर्वाहमुखी मात्रै हुन । नतिजा आउने गरि काम हुनु पर्छ भन्ने महानगरको सोच हो । अहिले पनि खेलकुदका पूर्वाधारहरु अस्तव्यस्त छन । जसले जे मन लाग्यो त्यही गरिएको छ । पूर्वाधार निर्माण पनि सोचे जस्तो भएका छैनन । अबको खेलकुदलाई एकै ठाउँमा केन्द्रित गरिनु हुन्न । अब बन्ने माष्टर प्लानले धेरै कुरा निर्दिष्ट गर्नेछ ।
पूर्वाधार बिकास कारण ब्यवसायिक खेलाडी उत्पान हुन सकेको छैन । यसका लागि पनि हामी होमवर्क गरिराखेका छौं । पूर्वाधार बिकास, खेलाडीको यवसायिक उत्पादन लगाएत यावत कुराहरु गर्दै गयौं भने हामीले सोचेको पोखरालाई खेलकुद शहरको बिकास गर्ने यसलाई पर्यटन संग जोड्ने कुराहरु हुनेछन ।

यहाँले पटक–पटक अब महानगरले निश्चित खेलको बिकास गर्ने र सोही अनुसार खेलाडी उत्पादन गर्ने पर्ण सुविधा दिने गरि खेलकुदमा लगानी गर्ने कुरा गर्नुहुन्छ त्यो कहिले बाट ?
अहिले महानगरले खेलकुदमा ठूलो लगानी गरिरेहेकै छ। तर त्यो बालुवामा पानी जस्तै भएको कुरा यथार्थ हो । अब महानगरले केही खेलहरुलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर अगाडी बढाउने र कम्तीमा पनि अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने गरि काम गर्ने सोच अगाडी सारेका हौं । कम्तिमा पनि त्यो खेलाडीले राष्ट्रिय गौरब बढाउने संगै पोखरालाई चिनाउने गरि अगाडी बढोस भन्ने चाहना हो ।
यति बेला धेरै संघ–संस्थाहरुले खेलकुदमा आफ्नै ढङले खर्च गरेका छन । अब त्यसलाई एक द्वार प्रणाली बाट गरौ भन्ने धारणा हो । केही खेलहरुलाई महानगरको प्रतिष्ठित खेल बनाउँ र ति खेलमा महानगरको मात्रै होइन खेलकुदमा लगानी गर्ने सबैको साझा थलोको रुपमा स्थापित गरौं । सबैको सल्लाह सुझाब र अन्तक्रिया बाट पक्कै पनि एउटा निष्कर्षमा पुग्ने छौ र महानगरले यसलाई साझा मंचको रुपमा बिकास गर्ने छ । यसका लागि पक्कै केही समय लाग्न सक्छ ।

महानगरको नगर सभामा पारित खेलकुद बजेटले के साँच्चिकै खेलकुदको बिकास सम्भब होला त ?
हामी यति बेला खेलकुदको पूर्वाधार बिकासमा नै जोड दिएका छौ । पहिलो भनेको पूर्वाधार अनि कार्यक्रमिक, यसका लागि वडा, महानगरले रकम छुट्टाएको छ । वडामा कम्तिमा पनि एक खेल मैदान आउट डोर इनडोर खेल्न सकिने पूर्वाधार बिकास संगै राष्ट्रिय स्तरका खेल गर्न सकिने पूर्वाधार बिकास गर्न सकियो भने सोचका साथ अगाडी बढेका छौं । नगरसभामा प्रस्तुत खेलकुद बजेटले पनि त्यही कुरालाई अगाडी बढाएको छ, यो सम्भव भएर नै गरेको हो ।

यहाँलाई अवगत नै छ, विगत ४० वर्ष देखि पोखराको मुटुमा रहेको पोखरा रंगशाला निर्माणको पर्खाइमा छ, भाषणमा धेरै पटक बिकास भयो यर्थाथमा हुन सकेन ? अब त बन्ला की ?
पोखरा रंगशालामा ध्यान नपुगेको होइन बेस्सरी पुगेकै हो । हिजो यसको बिकासका लागि क्षेत्रिय र जिल्ला खेलकुदले यसको जिम्मा लिएका थिए । अब यो महानगर भित्र पर्ने हुनाले यसको बिकास अगाडी बढाउनु पर्छ भनेर प्रदेश सरकार संग मिलेर गण्डकी प्रदेश कै एक नम्बर रंगशाला बनाएर लैजाने कुरा भएको छ र यसले छिट्टै मुर्त रुप पाउँदैछ । अब चाँडै नै पोखरा रंगशालाको मुहार फेरिने कुरामा म एकदमै विश्वस्त छु ।

यहाँले ३३ वटै वडमा पूर्वाधार बिकास गरिने बताउनुभयो । कुन वडामा कस्तो पूर्वाधार बन्ला केही योजना बनेका छन ?
हो मैले प्रत्येक वार्डमा सुविधा सम्पन्न आउट डोर इन्डोरका खेल पूर्वाधार बन्नु पर्छ भन्ने कुरा सबै वार्ड अध्यक्षज्यूहरुलाई भनेको छु । त्यो संगै हाम्रो महानगरमा पूर्व सेवा निवृत शैनिक हरुको घनत्व छ । हामीलाई प्रशिक्षक खोज्न बाहिर जानै पर्दैन । टोल–टोल र बस्ती–बस्तीमा रहेका उहाँहरुको शिपलाई परिचालन गर्न सक्ने सम्भावना ठूलो छ र यो उपलव्धिमुलक पनि हुन्छ । उनीहरु संग रहेको पुँजीलाई हामीले सहि सदुपयोग गर्नु पर्छ ।
त्यसका लागि पूर्वाधार पहिलो शर्त हो । त्यसै आएर प्रशिक्षण गरिदिनुस पनि भन्न भएन । स्वास्थ्यका दृष्टिकोणले खेलकुदको आवश्यक्तालाई मध्येनजर गर्दै पनि युवा देखि प्रौढ सम्म खेलमा जोड्न सक्छौ त्यसैलै पूर्वाधार बिकासलाई तदारुकताका साथ अगाडी बढाउँदै छौ ।

यति बेला खेलकुदलाई आर्थिक समृद्धी संग जोडिएर हेर्ने गरिएको छ । निर्वाचनको बेला घोषणापत्रमा पनि उल्लेख नै छ । तर अवस्था उही पुरानै, खासै परिवर्तन हुन सकेन नी ?
यसमा प्रमुख रुपमा दुइ वटा कुराहरु जोडिएका छन । पहिलो खेलकुदका माध्यम द्वारा खेल पर्यटनको विकास गर्ने र त्यस बाट आर्थिक उर्पाजन गर्दै जिवन निर्वाह गर्ने र दोश्रो खेलाडीको उत्पादन गर्ने । खेलकुद आर्थिक समृद्धी संग जोडिन्छ भन्ने कुरा सबैलाई थाहा छ तर त्यसका लागि हामीले सोचेको पूर्वाधार बिकास र यसको बजारीकरण । हामीले क्रिकेट खेल कै स्टेडियम निर्माण गरेर न्युट्रल भेन्यूको रुपमा बिकास गर्न सक्यौ भने त्यो हामीले भनेको र सोचे जस्तै हुनेछ । यसमा पक्कै पनि हामीले सोचेको परिवर्तन आउनेछ ।

यतिबेला खेलकुद बिकासका लागि पिपिपि मोडलको अवधारणा अगाडी आएको छ । महानगरको यसमा धारणा के हो ?
महानगरले एक्लै गर्छु भन्दा पनि यसमा निजी संस्थाहरुको सहभागिता भयो भने एकदमै प्रभावकारी हुन सक्छ । जो खेलकुदमा लगानी गर्न अगाडी आउँछ हामी त्यसलाई सहयोग गर्न तयार छौ महानगरले यसमा अभिभावकिय भूमिका निर्वाह गर्नेछ । त्यसलाई व्यवस्थापनका हिसाबले पनि अगाडी बढन सजिलो पनि हुन्छ । यस्तो मोडलमा तर सबै कुरा पारदर्शी ढङले अगाडी बढने छन ।

यति हुँदा पनि खेलकुद बिकासमा महानगर किन यति पछि किन ? सबै खेलप्रेमीले खेल बिकासको अनुभुती कहिले सम्म पाउने ?
हेर्नुुस यो घाम जत्तिकै छर्लङ्ग छ । हिजो एक सरकार थियो एउटै निती थियो । अहिले ७ सय भन्दा वढी सरकार छन । सबैले अ–आफ्ना योजना निर्माण गर्नुछ । कुनै पनि काम गर्नु भन्दा अघि नियम कानुन अनुसार नै हुनु प¥यो संविधानले त्यही भन्छ । केही कुरा प्रदेश र संघिय संग जोडिएका पनि छन । हामीले खेलकुदलाई पनि परिपक्व बनाएर अगाडी बढाउन चाहेका हौं । खेलकुदलाई अलिक फरक ढङले अगाडी बढाउन खोज्दा समय लाग्छ नै । खेलकुदको पनि सन्तुलित बिकास गर्दै सबै उद्योगी, खेलप्रेमी, पूर्व सेवा निर्वित शैनिक लगाएत सबैलाई समेटेर अगाडी बढ्ने छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close