
खेलकुदमा हाई अल्टिच्युड् ट्रेनिङ सेन्टर नेपालका लागि नयाँ भए पनि बिकसित राष्ट्रहरुका लागि भने नयाँ होइन । नेपालको मनाङमा रहेको एक मात्र हाइ अल्टिच्युड् ट्रेनिङ सेन्टर बनेको एक वर्ष वितीसकेको छ र सहि उपयोग हुन सकेको छैन । सिमित स्रोत साधनमा अगाडी बढेको नेपाली खेलकुद र हाम्रा खेलाडी त्यहाँ पुगेर तालिम गर्नु भनेको आकाशका तारा झार्नु भन्दा बाहेक हुन सक्दैन । तर पनि यो लेख खेलकुदका माध्यम बाट नेपालको आर्थिक समृद्धी गर्न सकिन्छ भन्ने बास्तविकतालाई झल्काउन सहयोग पुग्छ । राज्यले १ करोड ५० लाख खर्च गरेर बनाएको टे«निङ सेन्टर कतै बलुवामा पानी खन्याए जस्तो हुने त होइन ? सम्पादक
समुद्री सतह बाट ३ हजार देखि ५ हजार मिटर सम्मको उचाईलाई हाई अल्टिच्युड (उच्च भूभाग) भनिएपनि २ हजार मिटर देखि माथिको उचाईमा गरिने तालिमलाई हाई अल्टिच्युड ट्रेनिंङ्ग भनिन्छ । यसरी उच्च भूभागमा तालिम गरेमा खेल प्रदर्शन राम्रो हुनुका साथै शरीरको भित्रि क्षमता तथा शक्तिमा पनि बृद्धि हुन्छ ।
समुद्री सतहमा अक्सिजनको मात्रा २०.९ प्रतिशत हुन्छ । उचाई बढ्दै गएपछी हावामा प्रेसर र अक्सिजन दुवै कम हुदै जान्छ र शरीरमा पनि अक्सिजन सहितको हेमोग्लोबिन पनि घट्दै जान्छ । त्यसकारण, उच्च भूभागमा हुने अक्सिजनको कमिनै हाम्रो शरीरमा हुने फाइदाको प्रमुख कारण हो । उचाईमा सास फेर्दा शरीरलाई चाहिने अक्सिजन भन्दा कम अक्सिजन प्राप्त हुन्छ । यस्तो अवस्थामा अक्सिजनको अभावलाई पुरा गर्नको लागि शरीरले ईराइथ्रोपोईटिन नामक हर्मोन धेरै उत्पादन गर्छ, जसले रातो रक्ताकोशिकाहरु बन्न मद्दत गर्छ र फलस्वरुप मांसपेसीमा धेरै अक्सिजन पुग्दछ ।
यसरी उचाईमा तालिम गर्दा उचाई अनुकुलका खेलहरुमा र तल्लो भूभागमा आएर खेल खेल्दा शरीरमा थकान महसुस हुदैन र लामो समय निरन्तर खेल खेल्न सकिने अध्ययनहरुले देखाएका छन् । समुद्री सतहबाट करिब ५ हजार मिटर उचाईमा हावामा अक्सिजनको मात्रा समुद्री सतह भन्दा झन्डै आधा हुन जान्छ । यो उचाई भनेको सगरमाथाको आधार शिविरको उचाई जतिनै हो ।
उच्च भूभागमा गरिने तालिमका फाइदाहरु
यसरी २ हजार मिटरभन्दा बढी उचाईमा गएर खेलाडीहरुले तालिम गर्दा ईराइथ्रोपोईटिनको (हेमोग्लोविन) मात्रा धेरै भई तल्लो भूभागमा नथाकेर खेल प्रदर्शन गर्ने क्षमता बढ्ने प्रमुख फाइदा संगसंगै अन्य फाइदाहरु पनि हुन्छन, जस्तै ल्याकटेट उत्पादनमा कम हुन्छ जसले गर्दा दुखाई कम हुन्छ, रगतको मात्रा बढ्छ, एरोबिक इंन्जाइमको मात्रा बढ्छ, मोटोपनको कमि गर्न पनि यसले भूमिका खेलेको हुन्छ, साना रक्तधमनी हरुको संख्या बढ्छ, मांसपेसीको तागत बढ्छ, बारम्बार छिटो–छिटो कसरतहरु गर्ने गर्दा रगतको नालिहरु खुल्नगई रक्तप्रवाह धेरै हुनुका साथै फोस्फोक्रेटिनिन नामको रसायनले मांसपेसीको शक्ति बढाउन मद्दत गर्दछ । अन्तत आफ्नो शारीरिक क्षमतामा बृद्दि भइ उच्च खेल प्रदर्शन गर्नु नै उच्च भूभागमा गरिने तालिमको प्रमुख फाइदा हो । यद्दपी विश्वमा यसरी गरिने तालिमको विभिन्न फाइदाहरुको बारेमा अध्ययन अनुसन्धानहरु भैरहेका छन् ।
कहिलेकाही तल्लो भूभागबाट एक्कासी धेरै उचाइमा जाँदा केहि समस्याहरु आउन सक्छन जुनमध्ये अल्टिच्यूड़ सिकनेस (लेक लाग्नु) प्रमुख समस्या हो । अक्सिजनको कमीले गर्दा कसैकसैलाई लेक लाग्न सक्छ । लेक लागेमा औषधिको प्रयोगले उपचार गर्न सकिन्छ तर त्यो भन्दा राम्रो उपाए भनेको अल्टिच्यूड़ एक्लेमिटाईजेसन् (वाताबरण आनुकुल आफुलाई समायोजन) गर्नु हो ।
उचाईमा जाँदा पारिवारिक भ्रमणहरु १३ हजार फिट भन्दा माथि र बालबालिकाहरु संग ट्रेकिंग जाँदा १० हजार फिट भन्दा माथि जानु खतरापूर्ण भएको अध्ययनहरुले देखाएको छन् । तथापी १३ हजार फिटभन्दा माथि पनि मानब बस्तीहरु भएको हुनाले अल्टिच्यूड़ एक्लेमिटाईजेसन् (वाताबरण आनुकुल आफुलाई समायोजन) गरेर उचाईमा जान सकिन्छ ।
यसरी एक्लेमिटाईज गर्दा पहिलो रात १० हजार फिटभन्दा तल बिताउने र प्रत्येक दिन १ हजार फिट भन्दा माथि नजाने, पूर्ण रुपमा एक्लेमिटाईज भएपछी प्रत्येक ३ हजार फिट माथि चढेपछि आराम गर्नु पर्दछ । उचाईमा चढ़दै जाने र फेरी फर्केर बेसीमा रात बिताउनाले पनि एक्लेमिटाईज हुन मद्दत गर्दछ । हाई अल्टिच्यूड़ ट्रेनिंगका केही सैद्धान्तिक तरिकाहरुमा उचाईमै बस्ने उचाईमै तालिम गर्ने र उचाईमै बस्ने तर कम उचाईमा तालिम गर्ने बढी सान्दर्भिक देखिएका छन् ।
हाई अल्टिच्यूड़ ट्रेनिंग सेन्टर
उचाईमा गरिने तालिमले गर्दा खेलाडीहरुको शारीरिक तथा खेल प्रदर्शन क्षमता बढ्ने भएकै हुनाले विश्वका धेरै राष्ट्रहरुमा उच्च भूभागमा तालिम केन्द्रहरु खुलेका छन् । यसरी खुलेका अन्तराष्ट्रिय स्तरका तालिम केन्द्रहरुमा देश तथा बिदेशका खेलाडीहरु गएर तालिम गर्ने र खोजकर्ताहरुले अनुसन्धान गर्ने गर्दछन् ।
विश्वका केहि चर्चित उच्च भूभाग तालिम केन्द्रहरुमा, ओलम्पिक ट्रेनिंग सेन्टर, अमेरिका (१ हजार ८ सय २३ मिटर, ६ हजार फिट), स्वीस ओलम्पिक ट्रेनिंग बेस क्याम्प, स्विटजरल्याण्ड (१ हजार ८ सय ५६ मिटर, ६ हजार १ सय ९ फिट), हाई अल्टिच्यूड़ ट्रेनिंग सेन्टर, केन्या (२ हजार ४ सय मिटर, ७ हजार ९ सय फिट), नेताजी सुवास उच्च शिखर प्रशिक्षण केन्द्र, भारत (२ हजार ४ सय ३० मिटर, ८ हजार फिट), त्यस्तै स्पेन, श्रीलंका, न्यूजिलैंड, क्यानडा आदि देशमा यस्ता तालिम केन्द्रहरु रहेका र केहि खुल्ने अवस्थामा छन् ।
बोलिभिया, इक्वेडर आदि जस्ता देशहरुमा राजधानी नै २६०० मिटर भन्दा माथि रहेकाले सजिलै हाई अल्टिच्यूड़को फाइदा लिन सकिन्छ । विश्वका धेरै हाई अल्टिच्यूड़ ट्रेनिंग सेन्टरहरुमा आवश्यकता अनुरुप अन्तराष्ट्रिय स्तरको रनिंग ट्रयाक, जिम हल, बास्केटबल कोर्ट, फुटबल कोर्ट, हक्की, स्विमिङ पुल, इन्डोर हल, स्पोर्ट्स मेडिसिन क्लिनिक, फिजियोथेरापी हल र होस्टेलको व्यवस्था हुन्छ । विश्वका कतिपय बिश्वबिधालयहरुका आफ्नै हाई अल्टिच्यूड़ ट्रेनिंग सेन्टरहरु हुन्छन जहाँ खेलकुदको ट्रेनिंग र अनुसन्धानहरु हुन्छन् ।
नेपालमा हाई अल्टिच्यूड़ ट्रेनिंग तथा ट्रेनिंग सेन्टरको सम्भाव्यता
नेपालमा उच्च शिखर प्रशिक्षण केन्द्रको सम्भाव्यताको प्रमुख आधारनै नेपालको भौगोलिक बनावट र जैविक तथा वातावरणीय विविधतालाई लिन सकिन्छ । नेपालमा समुद्री सतह देखि ६० मिटरको उचाईदेखि विश्वकै सर्वच्व शिखर सगरमाथा पर्दछन,् जसमा कम्तिमा १ हजार ३ सय वटा पहाड तथा हिमालहरु दुई हजार मिटर भन्दा माथि छन् ।
भौगोलिक बनावटले नेपाललाई तराई (३०० मिटर सम्म), सिवालिक, चुरे पहाड (१५०० मिटर सम्म), मध्य पहाड (२ हजार ५ सय मिटर सम्म), उच्च पहाड (४ हजार मिटर सम्म) र उच्च हिमालय (४ हजार मिटरभन्दा माथि) गरि पाँच भागमा विभाजन गरेको छ । नेपालमा ४ हजार मिटर भन्दा माथि पनि मानब बस्तिहरु रहेको र हिमालमा हुर्के खेलेका शेर्पाहरुले सगरमाथाको शिखर पटकौ पटक चुम्नु र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा कृतिमान राख्नुले पनि नेपालमा उच्च शिखर प्रशिक्षण केन्द्रको सम्भाव्यतालाई प्रस्ट पार्दछ ।
हिमाली भेगमा जन्मे हुर्केका नेपालीहरु देखि हिमाल चढ्ने शेर्पाहरु बिना अक्सिजन भारी बोकेर निकै उचाई सम्मको यात्रा सजिलै तय गर्ने हुनाले नेपालमा विश्वकै सबैभन्दा उच्च भूभागमा रहेको तालिम केन्द्रको स्थापना गर्न सकिने सम्भावनालाई पनि नकार्न सकिदैन । यसरी बिभिन्न उचाई तहलाई मध्यनजर गर्नेहो भने हामीले तह तहमा तालिम केन्द्र खोल्न सकिन्छ । जस्तै, १ हजार मिटरमा बेस क्याम्प, २ हजार मिटरमा पहिलो, ३ हजार मिटरमा दोस्रो, ४ हजार मिटरमा तेस्रो, ५ हजार मिटरमा चौथो गरि तालिम केन्द्रहरु खोल्न सकिन्छ ।
यसरी तालिम केन्द्र खोल्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । तालिम केन्द्रको समुन्द्री सतह देखिको उचाई, तापक्रम, सापेक्षित आद्रता, बर्षा र चिसो मौसम, हावामा अक्सिजनको मात्रा आदिको बारेमा पूर्ण जानकारी लिनु पर्दछ । त्यसैगरी खेलाडीहरु उक्त उचाईमा तालिम जाँदा रगतमा अक्सिजनको मात्रा ९० प्रतिशत भन्दा तल झर्नु हुदैन र साथसाथै उचाइमा तालिम गरिसकेपछि शरीरमा हुने परिबर्तन (फिजिकल र फिजियोलोजिकल परिवर्तन) कति समयमा हुन्छ भन्ने पनि अध्ययन गर्नु पर्दछ अन्यथा समय नपुगी गरिने तालिमको कुनै तुक हुदैन ।
यस्तो परिवर्तनको मापन स्पोर्ट्स मेडिसिनका बिज्ञहरुद्वारा गरिन्छ । तालिम केन्द्र खोल्दा भौगोलिक अवस्था, खेलाडीहरुको खाने बस्ने सुबिधा, सवारी साधन (ट्रान्सपोर्टेसन) को सुबिधा, सुरक्षा, इमर्जेन्सी मेडिकल सुबिधा र ब्याक अप का साथ साथै टेक्नोलोजीको उचित प्रयोग हुनु पर्दछ । नेपालका सम्भावित स्थानहरुमा हामीले केहि स्थानहरुलाई हेरेका छौ जसमा काठमाडौँ पूर्वमा हेलम्बु क्षेत्र, जिरी, सगरमाथा क्षेत्र, गोक्यो भ्यालि, पोखरादेखि उत्तरतिर घान्द्रुक, छोम्रोंग, पुन हिल, लेते, जोमसोम, मुक्तिनाथ, नुप्शांङ्ग खर्क, लोमन्थाङ्ग, पश्चिम नेपालमा ढोरपाटन, जुम्ला, रारा, खप्तड क्षेत्र आदिमा स्थापना गर्न सकिन्छ । हुनत उच्च भूभागमा गरिने तालिमहरु २ हजार मिटर भन्दा माथिको उचाईमा जहाँ गरे पनि हुन्छ तर तालिम केन्द्रहरुनै खोल्नको लागि माथि उल्लेखित कुरामा बिशेष ध्यान दिनुपर्ने देखिन्छ ।
विश्व समुदायनै उच्च शिखरमा तालिम गराउन, अनुसन्धान गर्न र तालिम केन्द्रहरु खोल्न तत्पर रहेको बेला नेपाल सरकारले पनि नेशनल एकेडेमी अफ् स्पोर्ट्स मेडिसिनसंगको सहकार्यमा उच्च भूभागमा गरिने तालिम र सो को लागि तालिम केन्द्र खोल्नको लागि पहल कदम अगाडि बढाएको छ । यसरी नेपालमा उच्च भूभागमा तालिम केन्द्र स्थापना गरेमा नेपाली खेलाडीलाई मात्र नभई बिदेशी खेलाडी, कोच तथा अनुसन्धानकर्तालाई यहाँ आउन र तालिम तथा अनुसन्धान गर्न निमन्त्रणा गर्न सकिन्छ ।
अरबदेशहरुका धेरै खेलाडीहरु उच्च भूभागको तालिमको लागि युरोपका बिभिन्न तालिम केन्द्रमा महँगो शुल्क तिरेर जाने हुनाले यी खेलाडीहरुलाई नेपालमा आउने वातावरण प्रदान गर्न सकिन्छ । साथै, युरोप, अस्ट्रेलिया, अमेरिका आदिका उच्च भूभागमा तालिम गरिसकेका खेलाडीलाई पनि हाम्रो देशमा स्थापना गरिने विश्वकै उचाईमा रहने तालिम केन्द्रमा तालिम गर्न निमन्त्रणा गर्न सकिन्छ । उच्च भूभागमा खेलिने खेलकुदका सम्भावनाहरु पनि खोज्दै खेलकुद पर्यटनको पनि प्रचुर सम्भावना नेपालमा रहेको छ । खेलकुदका यस्ता तालिम केन्द्रहरुलाई नेपालमै खेलकुद विश्वविद्यालयको स्थापना गरि खेलकुद शिक्षा र उच्च भूभागमा गरिने तालिमको तथा माउन्टेन मेडिसिनको पनि अध्ययन अनुशन्धानमा टेवा पुग्ने देखिन्छ ।
साथै, यस्ता तालिम केन्द्रहरुले हिमाल आरोहण गर्ने आरोहिहरुलाई पनि स्वास्थ्य, फिजिकल फिटनेस तथा एक्लिमिटाईजेसन क्याम्पको रुपमा पनि काम गर्ने देखिन्छ । अझ हिमाली तथा उच्च पहाडी भेकमा बसोवास गर्ने बासिन्दाहरुमै उर्पयूतm खेलाडी प्रतिभाको खोजि गर्न तालिम केन्द्रहरुले मद्धत पुर्याउने देखिन्छ । तसर्थ राज्यले आर्थिक, सामाजिक र भौतिक संरचनाको अध्ययन गरि स्वयं तथा निजि सरकारी सहकार्यमा यस्ता तालिम केन्द्रहरु स्थापना गर्नु आजको आवश्यकता हो ।
के हो स्र्पोट्स मेडिसिन ?
स्पोर्टस मेडिसिन भन्नाले वैज्ञानिक तवरले गरिने खेलकुद शिक्षा तथा स्वास्थ्य सँग सम्बन्धित कसरत, शारिरिक तन्दुरुस्तिका साथै खेल खेल्दा लाग्न सक्ने चोटपटकहरुबाट बच्ने उपाय, तिनको उपचार र घाईतेहरुको पुनः खेलमा पुनर्आगमनको लागी आवश्यक पर्ने उपचारपद्धतिको अध्ययनलाई बुझिन्छ । स्पोर्टस मेडिसिन एक मेडिकल डिग्री मात्र नभई विभिन्न विधाको संयुतm रुप हो ।
स्पोर्टस मेडिसिनमा अध्ययन गरिने केहि मुख्य विषयहरु खेल पूर्व गरिने शरिर तथा स्वास्थ्य परिक्षण र समय समयमा गरिने स्वास्थ्य परिक्षण, चोटपटक रोकथामका कार्यक्रम (ईन्जुरि प्रिभेन्सन प्रोग्राम), पौष्टिक आहार (डाइट, न्यूट्रि«सन र हाईड्र«ेसन), औषधी, लागूऔषधी तथा डोपिङ्ग र प्रतिबन्धित औषधीहरु, मनोबैज्ञानिक परामर्श तथा उत्पे्ररणा, बैज्ञानिक खेलकुद तालिम तथा वायोमेकानिक्स आदी हुन ।
धेरै खेलाडीहरु अचानक मृत्युको शिकार बनेका छन् । बिगत १६ बर्ष यता कम्तिमा ८६ जना फुटबलरहरुको कलिलो उमेरमै मृत्यु भएको छ, जसमध्ये ८० प्रतिशत हाईपरट्र«ोपिक कार्डियोमायोप्याथी (हार्ट अट्याक) को कारणले भएको छ र प्रायजसो हामिजस्तै कम बिकसित देशका छन् । अन्यको मृत्यु चोटपटकले गर्दा भएको छ । त्यसकारण यस्ता समस्याहरुलाई पहिलानै पहिचान गर्न सके हुन सक्ने संभाबित दुर्घटनाबाट बच्न सकिन्छ ।
यसका लागि शरिरको सम्पूर्ण जांच तथा फिटनेसको परिक्षण गर्नु पर्दछ । चोटपटकबाट बच्ने केही उपायहरुमा खेल पूर्व पश्चात स्वास्थ्य परिक्षण गर्नु, जोखिमहरु पत्ता लगाई त्यसबाट बच्नु, पौष्टिक आहारमा ध्यान दिनु, उपर्युक्त स्रोत साधनहरु तथा वातावरणमा रोज्नु, बैज्ञानिक तालिम तथा मानसिक रुपमा तयार हुनु र चोटपटकको उपचार तथा फिजियोथेरापिको माध्यमबाट खेलमा पुनर्आगमन हुनु आदि हुन् ।
त्यस्तै खेलाडीहरुको शारिरिक, मानसिक तथा बौद्धिक विकासको निम्ति पौष्टिक आहार अपरिहार्य हुन्छ । साथै खेल खेल्दा वा प्रशिक्षणको क्रममा आबश्यक पर्ने अतिरिक्त पौष्टिकता तथा शरिरमा कुनै कमि भएमा त्यसलाई कसरी पुरा गर्ने बारेमा ध्यान दिनु जरुरी हुन्छ । यसका अतिरितm खेलाडीहरुले डोपिङ्गको बारेमा जानकारी राख्नु पर्दछ । डोपिङ्ग भनेको शारिरिक क्रियाकलापलाई असाधारण बनाउनको लागी प्रयोग गरिने कुनै पनि प्रतिबन्धित वस्तुको सेवन गर्नु हो । डोपिङ्गका फाईदा, बेफाईदा दुबै हुन्छन् तर डोपिङ्ग गर्नु नियम बिपरित हो । डोपिङ्ग गरेको पाईएमा प्रतिबन्ध लगायतका अन्य कारबाहीहरु हुन सक्छ । WADA (World Anti-Doping Agency) डोपिङ्ग हेर्ने नियमक संस्था हो । नेपालमा दुर्घटनावस खेलाडीहरु डोपिङ्गमा पर्न सक्ने सम्भावना धेरै छ ।
तसर्थ, स्पोर्टस मेडिसिनले खेलाडीहरुलाई असक्षम गराउनु नभई स्वाथ्य तथा सुरक्षित तरिकाले प्रशिक्षण र प्रतिशपर्धामा आफ्नो लक्ष्य हांसिल गर्न अहम भुमिका खेल्दछ । त्यसैले, स्पोर्टस मेडिसिनको वारेमा जानकारी लिने गरौं ।