
पोखरा, ६ साउन ।
गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयले प्रदेशको खेलकुदको बिकास दिन बनेको कार्यदलले आइतबार पोखरामा विभिन्न खेलकुद संघ–संगठन र खेलकुदका अग्रज व्यक्तित्वहरु संग सुझाब संकलन गरी प्रारम्भिक चरणको अध्ययन कार्यलाई तिव्रता दिएको छ ।
प्रदेश सरकारले प्रदेशको खेलकुद बिकासका लागि आब २०७५/०७६ को निती तथा कार्यक्रममा प्रस्तुत गरेका पाँच वटा विषयमा केन्द्रित गरि प्रारम्भिक अध्ययन गरेको हो ।
प्रदेश सरकारले प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र गल्फ कोर्षको निर्माण, एकिकृत खेलकुद एकेडेमीको निर्माण, सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको वहुउपयोगी खेल मैदानको निर्माण, हाइ अल्टिच्युट खेल मैदानको पूर्वसम्भाव्यता अध्ययन र एक स्थानिय तहमा एक खेल मैदानको कार्य विधी निर्माण जस्ता पाँच वटा विषलाई लिएर कार्यदलले विगत एक महिना देखि अध्ययन गरिरहेको थियो ।
कार्यदलका सदस्य तेज गुरुङले विभिन्न विषयमा प्रारम्भिक चरणमा गरिएका प्रस्तावित अध्ययनहरुको बारेमा जानकारी गराउँदै पोखरा रंगशालालाई प्राथमिकतामा राखेर अन्य सम्भाव्य जिल्ला र स्थानहरुमा समेत अध्ययन गरिएको बताए । उनले प्रदेशका ८५ वटै स्थानिय निकायहरु खेलकुद बिकासका लागि उत्साहित रहेको बताउँदै सरकारले घोषणा गरे वमोजिम एक स्थानिय तह एक खेल मैदानको पूर्वाधार निर्माण गर्ने सोच सबै स्थानिय निकायले बनाएको बताए ।
कार्यदलले क्रिकेटका लागि पोखरा ३३ स्थित पशुपती घाट, नवलपुरको मुकुन्दशेन रंगशाला र प्रतिभा खेल मैदान, तनहुँको फराकचौर खेल मैदान, चापाकोट स्याङजाको दामाचौर खेल मैदान र बागलुङको नेपाने चौर खेल मैदानका बारेमा अध्ययन भएको जनाएको छ ।
त्यसै गरि गल्फका लागि विश्वकै १० उत्कृष्टमा पर्ने हिमालयन गल्फ कोर्षलाई पिपिपि मोडलमा संचालन गर्ने सोच कार्यदलले बनाएको सदस्य गुरुङले बताए । यसै गरि पोखरा १६ स्थित तल्लो दिप, पृथ्वीनारायण क्याम्पसको पूर्व पट्टी सेती नदीको किनार, विपी खेलकुद ग्राम गैडाकोट, वोडाई चौर वागलुङ, पोखरा १४ स्थित फुलवारी रिर्सोटले प्रयोग गर्दै आएको १ सय २५ रोपनीको सार्वजनिक जग्गा लगाएत रहेका छन । पोखरा ड्यामसाइडमा रहेको गल्फ स्कुललाई समेत गल्फको अध्ययन केन्द्रको स्पमा विकास गर्न सकिने कार्यदलले औंल्याएको छ ।
मुस्ताङको तिमाङमा हाइ अल्टिच्युट खेल मैदानका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको छ भने खेलकुद एकेडमी र वहुउपयोगी रंगशाला जस्ता महत्वकाक्षीं योजनाका लागि पोखराको वडा नं १४ र १५ का सार्वजनिक स्थलमा हुन सक्ने कार्यदलको अध्ययनले देखाएको छ ।
उक्त भेलामा सहभागी वक्ताहरुले आफ्ना धारणा प्रस्तुत गर्दै अबको खेलकुद आर्थिक समृद्धी तर्फ उन्मुख हुनु पर्ने कुरालाई जोड दिएका छन । “खेलकुदलाई पर्यटन गन्तव्यको मुख्य आधार बनाउन सके खेलकुद विकास संगै राष्ट्रको समृद्धी हुन सक्छ” उनीहरुले भनेका छन । सहभागीहरुले प्रदेशको विकास खेलकुद बिकास संग जोडीएकोले पनि यसका लागि प्रदेश सरकारले खेलकुदमा लगानी गर्न पछि पर्न नहुने कुरालाई प्रमुखताका साथ सुझाएका छन ।
कार्यदलका सदस्य तेज गुरुङले अबको १० दिन भित्र सभ्भाव्यता अध्ययनलाई पूर्णता दिइने र उक्त प्रतिवेदन प्रदेश मुख्य मन्त्रि र सामाजिक बिकास मन्त्रि समक्ष बुझाइने बताए । उनले अध्ययनले अझै पूर्णता नपाइसकेको र खेलकुदका विज्ञ लगाएत अन्य केही पक्षहरु संगको भेटघाट र छलफललाई तिव्र पारिएको स्पष्ट पारे ।
सामाजिक बिकास मन्त्रालयका निमित्त सचिब तेज प्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यदलका सदस्य खडग रानाभाट र सदस्य बिजय काफ्ले लगाएतले समेत बोलेका थिए ।
तस्विर: शुर्दसन रंजित