
काठमाण्डौ, ५ साउन ।
नेपालमा आगामी २०७६ को फागुन २५ देखि चैत ४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा क्रिकेट र प्याराग्लाइडिङ खेललाई समावेश गरिने भएको छ ।
काठमाण्डौमा शनिवार बसेको काउन्सिलको बैठकमा पहिलो पटक १३ औं साग आयोजक सदस्य राष्ट्र नेपालका तर्फ बाट क्रिकेट र प्याराग्लाइडिङ समावेश गर्ने निणर्य गरेको हो ।
यस भन्दा अघिका साग खेलहरुमा यि दुई खेलहरु समावेश थिएनन । अब १३ औं सागमा कुल २७ खेलहरु समावेश हुनेछन ।
१३ औं सागमा समावेश खेलहरु
आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल, ह्यान्डबल, जुडो, कबड्डी, खो–खो, सुटिङ, स्क्वास, स्वीमिङ, टेबल टेनिस, तेक्वान्दो, लन टेनिस, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट र प्याराग्लाइडिङ रहेका छन् ।
प्याराग्लाडिङखेल पहिलो पटक समावेश भएपछि नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाडिङ संघ उत्साहित बनेको छ । संघका महासचिब शैलेन्द्र राउतले प्याराग्लाडिङ खेलले अब नयाँ फड्को मार्ने बताए । १८ औं एशियाली खेलका लागि तयारी गरिरहेको बेला यस्तो निर्णय आउनु सुखद रहेको उनले बताए ।
यस अघि नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रीत रहि दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा शनिबार बसेको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षता बैठक बसेको हो । बैठकमा भुटान बाहेक नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंका गरी ६ राष्ट्र सहभागी थिए ।
मुल विषयमा प्रवेश गर्नुअघि बैठकलाई अध्यक्ष श्रेष्ठले सम्बोधन गर्दै एनओसी र राष्ट्रिय खेल संघहरुको ध्यान १३ औं सागमा पूर्ण रुपमा केन्द्रीत रहेको जानकारी गराउदै नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले पनि साग आयोजनाका सम्बन्धमा गम्भीर भएर चासो दिएको बताए ।
उनले सरकारले सागका लागि बजेट समेत विनियोजन गरेको बताउदै विगतको तुलनामा खेलकुदको बजेट झन्दै दोब्बरले बृद्धि भएको बताए । अध्यक्ष श्रेष्ठले सरोकारवाला सबैको सहयोग भए १३ औं सागको समय तालिकामा कुनै फेरबदल नगरी निर्धारित समयमै साग आयोजना गर्न लागि परेको बताए ।
उनले १३ औं साग आयोजनाको जिम्मेवारी दिएकोमा दक्षिण एसियाली राष्ट्रका ओलम्पिक कमिटीलाई धन्यवाद दिदै १३ औं सागलाई सफल र यादगार बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
दशरथ रंगशालाको निरीक्षण
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन काठमाडौं आएका विभिन्न राष्ट्रका प्रतिनिधिहरुले शनिबारै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको दशरथ रंगशालासहित विभिन्न खेल पूर्वाधारको निरीक्षण समेत गरेका छन् ।
नेपाल ओलम्पिक कमिटी एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठसहितको प्रतिनिधि टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले स्वागत गरेका थिए । प्रतिनिधि टोलीले दशरथ रंगशालाको मर्मत कार्यको प्रगति बारे जानकारी लिनुका साथै कभर्डहल र टेनिस कोर्टको निरीक्षण पनि गरे ।
टोलीलाई सदस्य–सचिव विष्ट, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख इन्जिनियर अरुण उपाध्याय, इन्जिनिएरद्वय तिलोत्तमा बस्याल र विश्वमित्र सन्जेलले कार्य प्रगति बारे जानकारी गराएका थिए ।