बागलुङ एन्फा कपः छात्रा फाईनलमा सिदार्थ र चिल्ड्रेन लाईफ भिड्ने

अर्जुन कार्की
बागलुङ, ३१ असार ।
बागलुङ जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधिको लागि साविकको उपविजेता सिदार्थ शिक्षा सदन र साविकको विजेता चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल भिड्ने भएका छन् ।

प्रतियोगिता अन्तरगत आईतबार पहिलो सेमिफाइनल खेलमा सिदार्थ शिक्षा सदनले न्यू एभरेष्ट एकेडेमीलाई र चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले अमर आदर्श बोर्डिङलाई पन्छाएका हुन ।

सिदार्थले न्यू एभरेष्टलाई ६–०को फराकिलो गोलअन्तरले हराएको थियो । खेलको ४ औं मिनेटमै अविरल पौडेलको गोलबाट अग्रता लिएको सिदार्थका लागि खेलको १३ औं मिनेटमा सुति बोहोरा, १५ औं मिनेटमा ओम मगर, २६ औं मिनेटमा युवेश थापा र २६ औं र ३५ औं मिनेटमा इश्वर बोहोराले गोल गरेका थिए ।

दोस्रो खेलमा चिल्ड्रेन लाईफले अमरलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको २४ औं मिनेटमा डिबक्स बाहिर आएको फ्रिकिकमा चिल्ड्रेनका राजिव श्रीसले गरेको गोलनै निर्णयक बनेको थियो ।

प्रतियोगिताको फाइनल खेल सोमबार हुने जिल्ला फुटबल संघका कोषाध्यक्ष सुर्य लामिछानेले जानकारी दिए ।

यस्तै जिल्लाका ३ वटा स्कुलले सहभागिता जनाएको छात्रा एन्फा कप अन्तरविद्यालय फुटबलमा अमर आदर्श बोर्डिङ फाइनल प्रवेश गरेको छ । आईतबार भएको खेलमा अमरले न्यू एभरेष्टलाई ट्राईबेकरमा ५–३ गोलअन्तरले पन्छाएको हो ।

खेलअबधिभर दुवै टोली गोलरहित बराबरी भएपछि विजेताको टुंगो ट्राईबेकरबाट गरिएको थियो । ट्राईबेकरमा अमर आदर्शकी किपर अमिसा खड्का (प्रिति) नायक बनेपछि अमर फाइनल प्रवेश गरेको हो । न्यू एभरेष्टकी दिविना श्रीस मगरले प्रहार गरेको पेनाल्टी अमरकी अमिसाले रोकेकी थिइन ।

छात्रा तर्फको फाइनलमा आईतबार अमर आदर्शले कालिगण्डकी बोर्डिङसँग प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक विकास थापाले जानकारी दिनुभयो । कालिगण्डकीले बाई पाएर फाइनलमा प्रवेश गरेको थियो ।

बगलुङ जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङले जिल्लामा पहिलो पटक छात्राहरुको फुटबल प्रतियोगिता संचालन गर्दा तीन  विद्यालयले सहभागिता जनाएको बताउँदै आउँदो दिनमा अरु विद्यालयहरुको पनि सहभागिता जनाउने आशा गरेको बताए । बागलुङमा पनि छात्राहरुको फुटबलप्रतिको क्रेज बढेकाले आफुहरुले प्रतियोगिताको आयोजना गरिएको बताए ।
नक आउटको आधारमा खेलाइएको प्रतियोगितामाको विजेताले नगद १५ हजार प्राप्त गर्नेछ भने विद्यालय प्रदेश स्तरमा हुने एन्फा कप फुटबल प्रतियोगिताको लागि छनोट हुनेछ । यस्तै उपविजेताले नगद ८ हजार प्राप्त गर्नेछ ।

प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार संचालन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close