
काठमाडौं, २८ असार
नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा हुंदै आएको सर्वाधिक सम्मानित प्रतियोगिता धर्मश्री अशोज १९ र २० गते आयोजना हुने भएको छ ।
राष्ट्र, राष्ट्रियता तथा प्रजातन्त्र प्रति अमुल्य जीवनको आहुती दिनु हुने अमर शहिद तथा ब्यायामका प्रणेता धर्मभक्त माथेमाको स्मृतीमा २०४२ सालबाट सुरु गरिएको सर्वाधिक सम्मानित तथा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको १५ औं संस्करण अशोज तेश्रो साता हुने मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए ।
राष्ट्रब्यापी खुल्ला प्रतियोगिताको रुपमा रहेको प्रतियोगितामा करिव ४ सय खेलाडीहरुले विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजी माथीको तौल समूहमा प्रतिस्पर्धा गराईने र प्रत्येक तौल समूहका पहिलो स्थान हात पार्ने खेलाडीहरुले ओभरअल राउण्डमा धर्मश्री उपाधीका लागि प्रतिस्पर्धा गर्ने मन्दिरद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।
१५ हजार पुरस्कार रासीबाट सुरु गरिएको धर्मश्री प्रतियोगिता १५ औं संस्करण सम्म आई पुग्दा शारिरीक सुगठनमा सर्वाधिक धनरासी पुरस्कार रहेको प्रतियोगिता भएको छ । धर्मश्री बिजेतालाई नगद ५ लाख सहित ट्रफी र ब्यानेटबाट सुसज्जित गरिने छ ।
यस्तै प्रतियोगितामा दोश्रो हुनेले २ लाख ५० हजार, तेश्रोले १ लाख ५० हजार, चौथोले १ लाख, पाँचौले ८० हजार, छैटौंले ७५ हजार र सातौं स्थान हात पार्नेले ६० हजार नगद तथा मेडल तथा अन्य पुरस्कार प्राप्त गर्ने छन् । यस्तै तौल समूहमा दोश्रो र तेश्रो हुनेले क्रमश नगद ३० हजार र २० हजारका साथै मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् ।
बिगतमा विभिन्न संस्थाहरुले प्रायोजन गर्दै आएकोमा प्रायोजक संस्थाहरुलाई धन्यवाद प्रदान गदै आगामी दिनमा धर्मश्रीलाई लगातार ५ बर्षको प्रायोजन सम्झौता गर्ने संस्थाको नाममा प्रतियोगिता आयोजना गरिने मन्दिरका अध्यक्ष प्रधानले बताए ।
अध्यक्ष प्रधानले प्रतियोगिता प्रत्येक बर्ष आयोजना गर्ने उद्धेश्य रहेता पनि अध्याधिक धनरासीको प्रतियोगिता भएकाले आर्थिक अभावका कारण र प्रायोजकका कारण लगातार आयोजना गर्न नसकिएको समेत बताए ।
फाइल तस्विर