
अर्जुन कार्की
बागलुङ, २६ असार
रुद्रेपिपल माध्यमिक विद्यालय र सिदार्थ शिक्षा सदनले बागलुङमा मंगलबारदेखि सुरु भएको एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
बागलुङ जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा रुद्रेपिपल माध्यमिक विद्यालयले रेशनुन्थला माध्यमिक विद्यालय र सिद्धार्थ शिक्षा सदनले कालिका कन्या माध्यमिक विद्यालयलाई हराएका हुन ।
बागलुङको बाङ्गेचौर खेलमैदानमा मंगलबार भएको उद्धघाटन खेलमा रुद्रेपिपलले रेशनुन्थलालाई ४–० गोलले पन्छाएको हो ।
रुद्रेपिपलाई सानदार जित दिलाउन सुदिप माझिले दुई गोल गरेका थिए । उनले खेलको ५ औं मिनेट र २५ औं मिनेटमा गोल गरे । यस्तै रुद्रेपिपलको लागि उत्सव पौडेलले ३५ औं मिनेट र प्रकाश विकले ६० औं मिनेटमा गोल गरेका थिए ।
यस्तै मंगलबारनै भएको दोस्रो खेलमा गतवर्षको उपविजेता सिद्धार्थले कालिकालाई ५–० गोलले पन्छाएको छ ।
सिद्धाथको लागि ओम मगरले खेलको १६ औं र ५५ औं मिनेटमा दुई गोलगरेभने कप्तान युगेश थापा मगरले ४ औं मिनेटमा, सुमित बोहाराले २९ औं मिनेट र इश्वर बोहोराले ४९ औं मिनेटमा एक–एक गोल गरे ।
प्रतियोगिताको उद्धघाटन बागलुङ जिल्ला फुटबल संघका अध्ध्यक्ष रामराज गुरुङले रेफ्रिलाई बल हस्तान्तरण गरेर गरेका थिए । उद्धघाटन कार्यक्रमको स्वागत उपाध्यक्ष टक बहादुर बोहोरा र संचालन उपाध्यक्ष रेशम गोतामेले गरेका थिए ।
प्रतियोगिताका संयोजक विकास थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरिएको बताए ।
नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा जिल्लाका १६ विद्यालयहरुको सहभागिता रहेको जिल्ला फुटबल संघका कोषाध्यक्ष सुर्य लामिछानेले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेताले नगद १५ हजार प्राप्त गर्नेछ भने विद्यालय प्रदेश स्तरमा हुने एन्फा कपमा छनोट हुनेछ । यस्तै उपविजेताले नगद ८ हजार प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिता अन्तरगत बुधबारको पहिलो खेल साविकको विजेता चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल विरुद्ध कोरोना एकेडेमी, दोस्रो खेल अमर आदर्श बोर्डिङ विरुद्ध कालिगण्डकी बोर्डिङ र तेस्रो खेल फ्यूचर ब्राइटर बोर्डिङ विरुद्ध सनराइज बोर्डिङको खेल हुने प्रतियोगिताका संयोजक विकास थापाले जानकारी दिए ।