
पोखरा, २४ असार ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा पश्चिमाञ्चल क्षेत्रिय स्तरिय बक्सिङ र टेबुल टेनिस प्रतियोगिता हुने भएको छ ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका काबा अध्यक्ष सम्पन्न श्रेष्ठका अनुसार यहि असार २७ र २८ गते पोखरामा आयोजना हुने बक्सिङ प्रतियोगितामा ८ जिल्ला र टेबुल टेनिस तर्फ १६ जिल्लाका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहनेछ ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका नासु डम्मर बहादुर नेपालीका (डिबी) अनुसार बक्सिङमा कास्की, बाग्लुङ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलबस्तुका महिला तथा पुरुष खेलाडीले प्रतिष्पर्धा गर्नेछन ।
प्रतियोगितामा बक्सिङ पूरुष तर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजी तौल समुह र महिला तर्फ ४८, ५२, ५६, ६० र ६४ केजी तौल समुहमा प्रतिष्पर्धा गराइने पश्चिमाञ्चल क्षेत्रिय प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले बताए ।
यता टेबुल टेनिस तर्फ १६ जिल्लाका महिला र पुरुष गरि ६४ खेलाडीको सहभागिता रहनेछ । उनीहरुले महिला/पुरुष सिंगल्स र डबल्स इभेन्टमा प्रतिष्पर्धा गर्नेछन ।
प्रतियोगिता सम्पन्न गर्न ७ लाख खर्च लाग्ने र बिजेताहरुलाई मेडल, ट्रफी संगै प्रमाणपत्र प्रदान गरिने नासु नेपालीले बताए । प्रतियोगिताहरु पोखरा रंगशालामा संचालन हुनेछन ।