राष्ट्रिय आर्चरीमा पोखराकी केशरीले जितिन् स्वर्ण

काठमाडौं, १९ असार ।

कास्की आर्चरी क्लब, पोखराकी केशरी आले मगरले लक्ष्मणकुमार श्रेष्ठ स्मृति पाँचौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको महिला व्यक्तिगत रिकर्भमा मंगलबार स्वर्ण जितेकी छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा केशरीले राष्ट्रिय च्याम्पियन नेपाल आर्मीकी आइशा तामाङलाई ६–५ ले पराजित गरिन् । निर्धारित समयमा खेल ५–५ को बराबरीमा टुंगिएको थियो । त्यसपछि दुवैलाई १–१ तिर हान्न लगाइएकोमा केशरीले अधिकतम १० अंक जोडिन् । आइशाले भने ९ अंक प्राप्त गरिन् । आर्मीकै ज्ञानु अवालेले तेश्रो स्थानमा चित्त बुझाइन् ।

नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगिता पुरुष व्यक्तिगत रिकर्भमा आर्मीका रोशन नगरकोटी पहिलो भए । उनले फाइनलमा टे«डिसनल आर्चरी क्लबका लक्ष्मण पुनलाई ६–४ ले हराए । आर्मीकै प्रेम विक तेश्रो भए ।

पुरुष व्यक्तिगत स्ट्यान्डर्डमा आर्मीका तविन गुरुङ पहिलो भए । उनले फाइनलमा ट्रेडिसनलका प्रेमकुमार भट्टचनलाई ७–३ ले पाखा लगाए । वेस्ट आर्चरीका नवीनवीर बस्नेत तेश्रो भए ।

सो स्पर्धाको महिलामा अर्चना थापा मगरले फाइनलमा सेलिना गुरुङलाई ६–२ ले निराश पार्दै स्वर्ण जितिन् । सर्मिला गुरुङले कांस्य हात पारिन् । शीर्ष तीन स्थान हात पार्ने सबै अन्नपूर्ण आर्चरी क्लबका हुन् ।

पुरुष व्यक्तिगत कम्पाउन्डमा वेस्टका प्रजीत अग्रवाल च्याम्पियन बने । उनले फाइनलमा राजधानी दैनिकका सनातन मल्लाको चुनौती १३७–१३१ ले समाप्त पारे । स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचने तेश्रो बने ।

पुरुष स्ट्यान्डर्ड टिम इभेन्टमा वेस्ट पहिलो, अन्नपूर्ण दोश्रो र आर्मी तेश्रो भए । पुरुष रिकर्भ टिममा आर्मीले स्वर्ण, ट्रेडिसनलले रजत र कास्कीले कांस्य हात पारे ।

विजेतालाई प्रतिनिधि सभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, आर्चरी संघका अध्यक्ष दीपककुमार गुरुङ, महासचिव रमेश सिवाकोटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ५५ खेलाडीले ७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close