राष्ट्रिय इन्डोर आर्चरीमा पोखराकी केशरी र आर्मीर्की आइशा फाइनलमा

काठमाडौं, असार १८ गते ।

नेपाल आर्मीकी आइशा तामाङ र कास्की आर्चरी क्लब, पोखराकी केशरी आले मगर लक्ष्मणकुमार श्रेष्ठ स्मृति पाँचौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको महिला व्यक्तिगत रिकर्भमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइशाले आर्मीकै आफ्नै दिदी ज्ञानु अवालेलाई ६–४ तथा केशरीले कास्कीकी रोजिना थापालाई ६–२ ले पराजित गरे ।

सो स्पर्धाको पुरुषमा आर्मीका रोशन नगरकोटीले कास्कीका देउबहादुर रोका तथा ट्रेडिसनल आर्चरी क्लब, काठमाडौंका लक्ष्मण पुनले आर्मीका प्रेम विकलाई समान ६–२ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष व्यक्तिगत स्ट्यान्डर्डमा आर्मीका प्रवीण गुरुङले आर्मीकै पवन राईलाई ६–० तथा ट्रेडिसनलका प्रेमकुमार भट्टचनले वेस्ट आर्चरी क्लब, काठमाडौंका नवीनवीर बस्नेतलाई ६–२ ले पाखा लगाउदै फाइनल यात्रा तय गरे । उक्त स्पर्धाको महिलामा अर्चना थापा मगरले विष्णुमाया लिम्बू तथा सेलिना गुरुङले शर्मिला गुरुङलाई समान ६–२ को नतिजामा निराश पार्दै फाइनलमा स्थान बनाए । सेमिफाइनल खेल्ने चारै अन्नपूर्ण आर्चरी क्लब, पोखराका हुन् ।

पुरुष व्यक्तिगत कम्पाउन्डमा वेस्टका प्रजीत अग्रवालले स्वयम्भू आर्चरी क्लब, काठमाडौंका रमेश भट्टचन तथा राजधानी आर्चरी क्लब, काठमाडौंका सनातन मल्लले अन्नपूर्णका किशोरकुमार गुरुङलाई निराश पार्दै उपाधि भिडन्त पक्का गरे ।

पुरुष रिकर्भ टिममा आर्मीले वेस्टलाई ६–२ तथा ट्रेडिसनलले कास्की आर्चरीलाई ६–१ ले पन्छ्याउदै फाइनलमा पुगे । पुरुष स्ट्यान्डर्ड टिममा अन्नपूर्णले कास्कीलाई ६–२ तथा वेस्टले ट्रेडिसनललाई ६–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । नेपाल आर्चरी संघको आयोजनामा भइरहेको दुईदिने प्रतियोगितामा ५५ खेलाडीले ७ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close