ह्वीलचेयर बास्केटबल लिगको उपाधि आर्मीलाई

काठमाडौं, असार १६ गते ।
नेपाल आर्मी र डब्लुएसएले एङगेज इम्पावरिङ ह्वीलचेयर बास्केटबल लिगको उपाधि शनिबार जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले जावलाखेललाई ३७–२७ ले पराजित ग¥यो । आर्मीको जितमा राजु कट्वालले २३ अंक योगदान गरे ।

महिलाको उपाधि भिडन्तमा डब्लुएसएले डब्लुडब्लुबीएलाई १८–११ ले हरायो । विजेताकी ज्योति अर्यालले ४ अंक जोडिन् ।

पुरुष÷महिला दुवैमा बीआईएले तेश्रो स्थानमा चित्त बुझायो । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २५ हजार र २० हजार नगद पुरस्कार हात पारे ।

पुरुषमा जावलाखेलका प्रेम विक र महिलामा डब्लुएसएकी हेमकला सुनुवार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । पुरुषमा आर्मीका राजु कट्वाल र महिलामा डब्लुएसएकी ज्योति अर्याल सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर राजुले १ सय ७२ र ज्योतिले ३१ स्कोर गरे । पुरुषमा एसआईआरसी र महिलामा एनएससीआईएसएले अनुशासित टिमको उपाधि हात पारे ।

दुवै समूहका ‘मोस्ट भेलुएबल प्लेयर’ ले ६ हजार, सर्वाधिक स्कोरकर्ताले ५ हजार र अनुशासित टिमको उपाधि हात पार्नेले १० हजारका दरले नगद पुरस्कार पाए ।

जुन २ तारिखदेखि सुरु प्रतियोगिताको पुरुषमा ९ र महिलामा ५ टिमले पहिले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । लिगको विजेता र उपविजेतालाई उपाधिका लागि पुनः खेलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close