
काठमाडौं, असार १५ गते ।
प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा ब्याडमिन्टन प्रतियोगितामा अर्घाखाँचीका सुनील आले मगर र ताप्लेजुङकी सुजना लिम्बूले शुक्रबार स्वर्ण जितेका छन् ।
सिंगल्स स्पर्धाको पुरुषमा सुनील र महिलामा सुजना पहिलो भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रतियोगिताको पुरुषमा मकवानपुरका संगम पाख्रिन दोश्रो र काठमाडौंका दिनेश महर्जन तेश्रो भए ।
महिलामा सिरहाकी सुनिता पटुवारी दोश्रो र सिन्धुलीकी गंगामाया श्रेष्ठ तेश्रो स्थानमा रहे । विजेतालाई राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले एक कार्यक्रमबीच नगदसहित पुरस्कृत गरे ।