
काठमाडौं, असार १५ गते ।
लेबोरेटरी मावि, कीर्तिपुरकी मनीषा गिरीले २३ औं विद्यालयस्तरीय राष्ट्रिय खेलकुदको आंशिक दृष्टिविहीनतर्फ छात्रा १ सय मिटर दौडमा शुक्रबार स्वर्ण जितेकी छन् । अमरसिंह माविकी सिर्जना परियारले रजत तथा शिवजन माविकी सावित्री विकले कांस्य हात पारे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको आंशिक दृष्टिविहीनतर्फ छात्र सफ्टबल थ्रोमा ज्ञानोदयका अशोक विक र छात्रामा मंगलप्रसाद माविकी सपना चौधरी, पूर्ण दृष्टिविहीनको छात्र सफ्टबल थ्रोमा लक्ष्मी माविका हरिबहादुर विष्ट, पूर्ण दृष्टिविहीनको छात्र १ सय मिटर दौडमा लेबोरेटरीका निश्चल सिवाकोटी, पूर्ण दृष्टिविहीनको छात्रा ५० मिटर दौडमा मंगलप्रसाद माविकी सुनिता चौधरी, आंशिक दृष्टिविहीनको छात्र १ सय मिटर दौडमा ज्ञानोदयका भरत रिजाल, पूर्ण दृष्टिविहीनको छात्र सटपुटमा जनजागृतिका दिनेशलाल श्रेष्ठ र छात्रामा नमुना माविकी रुपा तामाङ तथा आंशिक दृष्टिविहीनको छात्रा स्ट्यान्डिङ लङजम्प शिवजनकी सावित्री विकले स्वर्ण जिते ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रतियोगिताको बहिरातर्फ छात्र २ सय मिटर दौडमा बहिरा बाल माविका देवेन्द्र माझी र छात्रामा धौलागिरी बहिरा माविकी तिलदेवी गर्बुजा, ४ सय मिटर दौडको छात्रमा विराज बहिरा माविका रुपेश चौधरी र छात्रामा बहिरा बाल माविकी पुष्पा खत्री, ८ सय मिटर दौडको छात्रमा विराटका रुपेश चौधरी र छात्रामा धौलागिरीकी सुनिता बरुवाल, सटपुटको छात्रमा केन्द्रीय बहिरा माविकी राकेश बस्नेत र छात्रामा धौलागिरीकी तिलदेवी गर्बुजा तथा लङजम्पको छात्रमा धौलागिरीका वैद्यनाथ चौधरी र छात्रामा विराटकी पुनमकुमारी यादवले शीर्ष स्थान हात पारे ।
दुईदिने प्रतियोगितामा शारीरिक अपाङ्ग, बहिरा र दृष्टिविहनीतर्फ २ सय ८८ खेलाडीले विभिन्न ३८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।