
काठमाडौ, १३ असार
अखिल नेपाल खेलकुद संघको आयोजनामा संचालन भएको प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता बुधवार बाट सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन पुरुष ५६ केजी तौल समूहमा आर्मीका बाबुराम मगरले उदयपुरका विजय राईलाई, आर्मीकै नरेश देवानले अल्फाका चन्द्र ज्योती थापालाई, आर्मीका पुरन सुनुवारले मकवानपुरका सुशन मानन्धरलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । ५६ केजीमै रामेछापका फुर्वा शेर्पाले कैलालीका आदर्श पाण्डेलाई र झापाका सुरेन्द्र राईले बाँकेका नवीन घर्तिलाई पराजित गर्दै दोस्रो चरणमा पुगे ।
६० केजीतौल समूहमा आर्मीका दानबहादुर दर्लामीले सुनसरीका मोनिहाङ लिम्बुलाई, काठमाडौंका सुमन बज्राचार्यले कास्कीका रेक सुब्बा गुरुङलाई हराए । यस्तै मेघदुत क्लबका सलेन शाहीले चितवनका छविराज बोहरालाई अंकको आधारमा हराउँदै दोस्रो चरणमा प्रवेश गरे ।
४९ केजी तौल समूहमा टोटल फिटनेशका तेज पुन मगरले बाँकेका सागर थापालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए ।
प्रतियोगितामा पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५, ८१, ९१ र ९१ माथि १० तौल समूह तथा महिला तर्फ ४८, ५१, ५४, ५७, ६०, ६४, ६९ र ७५ माथि गरी ८ तौल समूह समावेश गरिएको छ ।
प्रतियोगितामा बिभागीय टोलीहरु आर्मी, पुलिस र एपीएफ लगायत देश भरबाट १ सय ९० खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता पाँच दिन सम्म संचालन हुनेछ । प्रतियोगिताको उद्घाटन गृहमन्त्री रामबहादुर थापा बादलले गर्नु भएको थियो ।
सन्तोष र एलिशा सम्मानित
अखिल नेपाल खेलकुद सघको आयोजनामा राजधानीमा आयोजित प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा गृहमन्त्री रामबहादुर थापा “बादल“ले एमएमए खेलाडी सन्तोष साउद क्षेत्री र एलिशा खड्कीलाई सम्मान गरेका छन् ।
खेलाडी साउद र खड्कीले गत महिना भारतको दिल्लीमा सम्पन्न अन्तर्रा्ष्ट्रिय मिक्स मार्शल आर्ट्स एचएफसि च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त गरेका हुन । सोही अबसरमा गृहमन्त्रीबादलले खेलाडी सधै अन्तर्रा्ष्ट्रिय जगतमा सद्भावनादुत रहेको र मुलुकको गरिमा जोगाउन महत्वपूर्ण रहेको धारणा ब्यक्त गरे ।