पोखरा स्पोर्टस । नवलपुरमा जारी गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप भलिबल छात्रतर्फ नवलपुर र छात्रातर्फ कास्कीले उपाधि जितेका छन् ।
नवलपुरमा आज सम्पन्न फाइनलमा छात्रतर्फ नवलपुरले कास्कीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । गण्डकी प्रदेश भलिबल संघका कार्यसमिति सदस्य पूर्ण बहादुर गुरुङ ‘जापान’का अनुसार छात्रा भलिबलमा कास्कीले म्याग्दीलाई २–१ को सेटमा पराजित गरी उपाधि जितेको छ ।
सम्पन्न छात्रतर्फको फाइनलमा नवलपुरले कास्कीलाई २५–२०, २५–१४ ले पराजित गर्न सफल भयो भने छात्रातर्फ कास्कीले म्याग्दीलाई २५–१८, १४–२५ र २५–१५ ले पराजित गरेको हो ।
त्यस्तै प्रतियोगिता अन्तर्गत छात्र–छात्रा भलिबलमा स्याङजाले तेश्रो स्थान हात पारेको छ ।
छात्र भलिबलमा स्याङजाले तनहुँलाई २५–१८, २५–२३ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गर्दा छात्रातर्फ भएको तेश्रो स्थानको खेलमा स्याङजाले नवलपुरलाई ११–२५, २५–२२ र २५–२२ ले पराजित गरेको छ ।
