
काठमाडौं, असार ९ गते ।
नेपाली तेक्वान्दो खेल विकास लागि नेपाल तेक्वान्दो संघ र यूके स्पोर्टस्बीच सम्झौता भएको छ । शनिबार कोटेश्वरस्थीत कोटेश्वर तेक्वान्दो डोजाङमा संघका अध्यक्ष प्रकाश शम्सेर राणा र यूके स्पोर्टस्का क्याथरिन स्वीट सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता ३ वर्षका लागि हुने संघका अध्यक्ष राणाले जानकारी दिए । सम्झौता अनुसार प्रशिक्षकको स्तरबृद्धी, पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षण, विभिन्न स्थानमा पारा तेक्वान्दो सञ्चालन गर्ने, खेलको बर्गीकरण, स्तरीकरण र प्रतियोगिता गर्ने भएको छ । युके स्पोर्टस्ले पारालाई अन्तर्राष्ट्रिय सहभागितामा जोड दिँदै सन् २०२० को टोकियो ओलम्पिकमा नेपाली पारा तेक्वान्दोलाई स्थान बनाउन विभिन्न कार्यक्रम अगाडि बढाउने जनाएको छ ।
नेपाल तेक्वान्दो संघसँगको सहकार्यमा तेक्वान्दो स्पोट्र्स साइन्स र खेलाडीका लागि औषधी सम्बन्धित तालिम सञ्चालन गर्ने भएको छ । सो अवसरमा संघका अध्यक्ष राणाले यो कार्यक्रमबाट नेपाली तेक्वान्दो विकास अर्को इट्टा थपिने विश्वास व्यक्त गरे । युके स्पोर्टस्की क्याथरिनले नेपाली तेक्वान्दोसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित भएको बताइन् । शनिबार नै एक कार्यक्रमकाबीच तेक्वान्दो कोच एडुकेसन कोर्सको उद्घाटन गरिएको । तीनदिने कोर्समा युके स्पोर्टस्की क्याथरिन, युके स्पोर्टस् टिमकी हेड अफ टिम एन्ड्रयू डिर र ग्रेट बिटेन तेक्वान्दो टिमका म्यानेजर लगायतले प्रशिक्षण गर्नेछन् ।
उक्त कोर्सको राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेलले पानसमा दीप प्रज्ज्वलित गर्दै उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा संघका उपाध्यक्षद्वय नन्दकुमार राई र भानबहादुर चन्द, संघका महासचिव दीपराज गुरुङ र सचिव नविनकुमार श्रेष्ठको उपस्थिती रहेको थियो । कोर्समा सातै प्रदेशका कुल ६० तेक्वान्दो प्रशिक्षकको सहभागिता रहेको छ ।