
काठमाण्डौ ७ असार ।
अखिल नेपाल खेलकुद संघको आयोजनामा संचालन हुने प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
बिहिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बक्सिङ खेलको बिकासमा यस प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
प्रतियोगितामा पुरुषतर्फ ५२, ५६, ६०, ६४, ६९, ७५, ८१, ९१ र ९१ माथी ९ तौल समूह तथा महिलातर्फ ४८, ५१, ५४, ५७, ६०, ६४, ६९ र ७५ माथीको ८ तौल समूह रहेको छ ।
पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक पवन अग्रवालले प्रत्येक तौल समूहका बिजेता,उपबिजेता र तेश्रो स्थान हाँसिल गर्ने खेलाडीलाई नगद पुरस्करले पुरस्कृत गर्ने बताए । प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस र एपीएफ लगायत नेपालका चर्चित करिब १ सय ५० जना खेलाडीले सहभागिता जनाउने छन् ।
प्रतियोगिता लौनचौर स्थित टेबलटेनिस हलमा असार १३ देखि १७ सम्म संचालन हुने छ । प्रतियोगिताको अनुमानित बजेट २९ लाख ५० हजार रहेको छ ।