
काठमाडौं ५ असार
नेपाल सेपाकताक्रो संघको आयोजनामा तेश्रो दक्षिण एसियाली सेपाकताक्रो प्रतियोगिता नेपालमा हुने भएको छ ।
प्रतियोगिता असार ८ देखि १० गतेसम्म लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने आयोजक संघका अध्यक्ष नेत्रबहादुर गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
नेपालसहित बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ५ राष्ट्रको सहभागिता रहने प्रतियोगिताको पुरुष÷महिलामा २–२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुषमा रेगु र क्वाड तथा महिलामा रेगु र डबल स्पर्धामा भिडन्त हुनेछ । पाँच राष्ट्रबाट जम्मा ३० पुरुष र उत्तिनै संख्यामा महिला खेलाडी सहभागी हुने बताइएको छ ।
प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय सेपाकताक्रो महासंघका महासचिव एवं एसियाली सेपाकताक्रो महासंघका अध्यक्ष डाटो हाजी अब्दुल हलिम विन कादर नेपाल आइसकेका छन् ।
पहिलो संस्करण पनि नेपालले आयोजना गरेको थियो । सन् २०१२ मा भएको उक्त संस्करणमा नेपालले दोश्रो स्थान हासिल गरेको थियो । श्रीलंकामा भएको दोश्रो संस्करणमा नेपालले पुरुष/महिला टिममा २–२ रजत जितेको थियो ।