सुटिङ प्रतियोगितामा फुलमायालाई स्वर्ण

काठमाडौं, असार ५ गते ।
ओलम्पियन नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले ओलम्पिक डेका अवसरमा आयोजित सुटिङ प्रतियोगिताको महिला व्यक्तिगत एयर राइफलमा मंगलबार स्वर्ण जितेकी छन् । नेपाली सेनाकी कल्पना परियार दोश्रो तथा ललितपुरकी सुस्मिता नेपाल तेश्रो भए ।
नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स फर अल कमिसनको तत्वावधानमा नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष व्यक्तिगत एयर राइफलमा सेनाका सुशे चौधरी पहिलो, सेनाकै कुमार कार्की दोश्रो र प्रहरीका हरिबहादुर थापा तेश्रो बने ।
महाराजगन्जस्थित नेपाल प्रहरी तालिम प्रतिष्ठानमा भएको प्रतियोगिताको पुरुष एयर पेस्तोलमा काठमाडौंका सुमन तुलाधरले स्वर्ण, काठमाडौंकै विपेश खड्काले रजत र सेनाका पूर्णकुमार श्रेष्ठले कांस्य जिते । सोही स्पर्धाको महिलामा प्रहरीकी सविता बस्नेत र सीमा तुलाधर तथा सेनकी हेमा चौधरीले क्रमशः शीर्ष तीन स्थान हात पारे ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, आयोजक सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, महासचिव राजेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा समावेश व्यक्तिगत ४ स्पर्धामा ८ का दरले ३२ खेलाडी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close